मकवानपुर । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका–४ का वडा सभापति अशोक लामा गलानले ‘एफसी मन्छाप’ क्लबलाई खेलकुद पोसाक (जर्सी) सहयोग गरेका छन् । मंगलबार वडा सभापति गलानले आफ्नै व्यक्तिगत आर्थिक लगानीमा क्लबमा आबद्ध खेलाडीहरूका लागि आवश्यक खेलकुद पोसाक उपलब्ध गराएका हुन् ।
स्थानीयस्तरमा खेलकुदको विकास, प्रवर्द्धन र युवाहरूमा खेलकुदप्रतिको उत्साह जगाउने उद्देश्यले जर्सी उपलब्ध गराएको सभापति गलानले बताए । उनका अनुसार गाउँघरमा लुकेर रहेका युवाहरूको प्रतिभा, खेलप्रतिको लगाव र क्षमतालाई कदर गर्दै गरिएको यो सहयोगले खेलाडीहरूमा नयाँ ऊर्जा र थप हौसला प्रदान गरेको छ ।
जर्सी हस्तान्तरण कार्यक्रमपछि एफसी मन्छापका खेलाडीहरू तथा क्लबका सम्पूर्ण पदाधिकारीहरूले वडा सभापति गलानप्रति विशेष आभार प्रकट गर्दै हार्दिक धन्यवाद दिएका छन् । क्लबले जारी गरेको धन्यवाद पत्र तथा प्रतिक्रियामा गलानको यो कदमले खेलाडीहरूको मनोबल उच्च बनाउन ठुलो टेवा पुगेको उल्लेख गरिएको छ ।
क्लबका एक पदाधिकारीले राजनीतिक नेतृत्वमा रहेर पनि स्थानीय युवा र खेलकुद क्षेत्रको विकासका लागि व्यक्तिगत रूपमा चासो दिँदै सहयोग गर्ने वडा सभापति अशोक लामा गलानको यो भावना निकै अनुकरणीय रहेको बताए । ‘उहाँको यस सहयोगले हाम्रो टोलीलाई आगामी दिनमा अझ उत्कृष्ट खेल प्रदर्शन गर्न ठूलो प्रेरणा मिलेको छ ।’ उनले भने ‘क्लबलाई आगामी दिनहरूमा पनि यस्तै प्रकारको निरन्तर साथ, सहयोग र अभिभावकत्वको अपेक्षा गरेको छु।’
राजनीतिलाई केवल पद र प्रतिष्ठाको सिँढी मात्र ठान्ने प्रवृत्ति भन्दा माथि उठेर समाजका विभिन्न रचनात्मक तथा जनसरोकारका क्षेत्रमा सकारात्मक योगदान पुर्याउनु पर्छ भन्ने मान्यता राख्ने सभापति गलानको यस कार्यले स्थानीय समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । युवाहरूप्रतिको उनको सद्भाव, लगाव र उत्तरदायित्वपूर्ण व्यवहारले स्थानीय युवा वृत्तमा उनको उच्च सम्मान बढेको छ ।
खेलकुदले युवाहरूमा अनुशासन, आपसी एकता, सामूहिक सहकार्य र सद्भावको भावना विकास गर्नुका साथै एक स्वस्थ समाज निर्माणमा अहम् भूमिका खेल्छ । राक्सिराङ जस्ता ग्रामीण भेगमा स्थानीयस्तरबाट हुने यस्ता किसिमका खेलकुद गतिविधिका प्रोत्साहनले नै भोलिका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतिभावान खेलाडी जन्माउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।








