साइबर अपराधको चपेटामा बालबालिका देखि अभिभावक सम्म

हेटौंडाका एक आमाबाबु अहिले गहिरो मानसिक पीडामा छन्। केही समयअघि ती बाबुले आफ्नो मोबाइलमा एक आपत्तिजनक भिडियो प्राप्त गरे। सुरुमा अचम्म मानिए, तर जब भिडियो हेर्दै गए, तब उनको हृदय फाट्यो, धर्ती भास्सियो, त्यो भिडियोमा देखिएकी किशोरी आफ्नी १३ वर्षीया छोरी थिइन्, र उनिसँगै उनका एकजना सहपाठी पनि थिए। तुरुन्तै उनले प्रहरीमा उजुरी दिए र कानुनी प्रक्रिया अगाडि बढ्यो।
त्यस्तै, मकवानपुरकै एक परिपक्व पुरुषले फेसबुकमा एक अपरिचित युवतीबाट फ्रेन्ड रिक्वेस्ट पाए। कुराकानी हुँदै जाँदा  युवतीले भिडियो कल गरिन् र अश्लील गतिविधि सुरु गरिन्। सुरुमा रमाइलो ठानिएको त्यो क्षण पछि नरक बन्यो। उनले पनि लाज मानेनन् र लुगा फुकाल्न थाले। केही समयपछि, उनी ब्ल्याकमेलमा परे। सो भिडियोको स्क्रिनशट रेकर्ड गरिएको रहेछ, जसको आधारमा उनलाई पैसा नदिए सार्वजनिक गरिदिने धम्की दिइयो। यस्ता घटनाले साइबर अपराधले न केवल किशोरकिशोरी परिपक्व नागरिकलाई पनि कसरी फसाउँछ भन्ने देखाउँछ।
के हो साइबर? के हो साइबर अपराध?
साइबर भन्नाले इन्टरनेट, कम्प्युटर, मोबाइल, सामाजिक सञ्जालजस्ता डिजिटल माध्यममार्फत हुने सम्पूर्ण प्रविधि गतिशील क्रियाकलापलाई जनाइन्छ। साइबर अपराध भनेको यिनै माध्यम प्रयोग गरेर हुने आपराधिक क्रियाकलाप हो, जस्तै निजी जानकारी चोर्ने, फोटो/भिडियो दुरुपयोग गर्ने, ब्ल्याकमेल गर्ने, अश्लील सामग्री आदान–प्रदान गर्ने आदिछन्।
नेपालमा विशेषगरी किशोरवय समूहलाई लक्षित गरी हुने साइबर अपराधहरू तीव्र रूपमा बढिरहेका छन्। मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थीहरूसँग गरिएको अनौपचारिक कुराकानीमा ५–१० प्रतिशत किशोरकिशोरीले आफूले दुई वा बढी सामाजिक सञ्जाल खाता बनाएको तथा केही नक्कली खातासमेत रहेको स्वीकारेका छन्।
विद्यालय र शिक्षकहरूमाथिको साइबर हमला
केवल विद्यार्थी वा अभिभावक मात्र हैन, विद्यालय र शिक्षकहरू पनि साइबर अपराधको चपेटामा परेका छन्। मकवानपुरका केही विद्यालयमा किशोरवयका केटाहरूले “ट्रोल पेज“ चलाएर महिला शिक्षकहरूको फोटो अपलोड गर्ने, तिनमा आपत्तिजनक शब्दहरू लेख्ने तथा एआई प्रविधिको प्रयोग गरेर अनुहार परिवर्तन गर्ने जस्ता कार्यहरू गरेको पाइएको छ। यसले न केवल शिक्षकको सम्मानमा आघात गर्छ, यो आपराधिक गतिविधि पनि हो। तर यसप्रति विद्यालय प्रशासन र अभिभावकको चेतना अझै कम छ।
किशोरकिशोर, अभिभावक र शिक्षकको भूमिका
किशोरकिशोरीहरूले सामाजिक सञ्जाल र इन्टरनेट प्रयोग गर्दा सुरक्षाको उपायहरू थाहा पाउनु अत्यावश्यक छ। फोटो, व्यक्तिगत विवरण, पासवर्डजस्ता संवेदनशील कुरा कसैसँग नबाँड्ने, अपरिचितको अनुरोध अस्वीकार गर्ने, केही अप्ठ्यारो लागेमा तुरुन्तै विश्वसनीय अभिभावक वा शिक्षकलाई बताउने बानी बसाल्नुपर्छ।
अभिभावक र शिक्षकहरूले निगरानी होइन, संवादमा जोड दिनुपर्छ। आफ्ना छोराछोरीलाई डर हैन, समझदारीको आधारमा सही र गलत सिकाउनु अहिलेको आवश्यकता हो।
सरकार र कानुनी व्यवस्था
नेपालमा साइबर अपराध नियन्त्रण गर्न ‘विधुतिय कारोबार ऐन २०६३’ लागू गरिएको छ र यस अनुसार २ लाख सम्म जरिवाना ५ वर्ष सम्म जेल वा दुबै सजाँय हुने व्यवस्था छ यद्यपि, समयअनुसार कानुन परिमार्जन र प्रविधि–अनुकूल बनाउनुपर्ने खाँचो छ। साइबर सेल, नेपाल प्रहरी, र साइबर सुरक्षा शिक्षा दिने संस्थाहरूको समन्वयमा व्यापक जनचेतना अभिवृद्धि गरिनु जरुरी छ।
निष्कर्ष
साइबर संसार विशाल र खुल्ला छ। यसमा राम्रो प्रयोगले व्यक्तित्व विकास, अध्ययन, र अभिव्यक्ति स्वतन्त्रता सम्भव छ भने, गलत प्रयोगले जिन्दगी बर्बाद पनि हुन सक्छ। अभिभावक, शिक्षक, र सरकारको साझा उत्तरदायित्वमा मात्रै हामी हाम्रो किशोर पुस्ता र समाजलाई सुरक्षित बनाउन सक्छौं। साइबर अपराधको चङ्गुलमा परेपछि “अहिले पो थाहा भयो“ भन्नु ढिलो हुन्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.