हेटौंडामा फोहोर व्यवस्थापनबारे नागरिक स्तरमै उठ्यो प्रश्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापनका नाममा नागरिकबाट उठाइने रकम र त्यसको प्रयोगबारे गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत यस विषयमा ध्यानाकर्षण गराउँदै नगरको राजस्व व्यवस्थापन र पारदर्शिताबारे प्रश्न गरेका छन्।

महतका अनुसार, हेटौंडा उपमहानगरका अधिकांश घरधुरीबाट नियमित रूपमा फोहोर संकलन शुल्क उठाइन्छ, तर सो कार्यको ठेक्का निजी कम्पनीलाई दिइने चलनले नगरपालिकाको आम्दानीभन्दा निजी कम्पनीहरूको नाफा बढाउने माध्यमको रूपमा काम गरेको देखिन्छ।

उनी लेख्छन्, “पहिले ठेक्का प्राप्त कम्पनीले उपमहानगरलाई वार्षिक पाँच लाख रुपैयाँ बुझाउँथ्यो। तर आउँदो आर्थिक वर्षदेखि न्यूनतम कबुलियत रकम पच्चीस लाख पुगेको छ। यो नै प्रमाण हो कि अघिल्ला वर्षहरूमा नगरको राजस्व चुहावट भइरहेको थियो।”

उनका अनुसार, यदि यति ठूलो रकम निजी कम्पनीले नाफाको रूपमा राख्न सकेको थियो भने, अब त्यसै रकमलाई नगरपालिकाको आयका रूपमा रूपान्तरण गर्न सकिने सम्भावना स्पष्ट देखिन्छ। उनले उपमहानगरलाई फोहोर व्यवस्थापन मात्र होइन, अन्य राजस्व स्रोतहरूमा पनि चुहावट रोक्दै आन्तरिक आम्दानीका नयाँ श्रोतहरू पहिचान गर्न आग्रह गरेका छन्।

“नागरिकमाथि कर बढाएर भार थोपर्नेभन्दा पनि, व्यवस्थापकीय सुधारमार्फत आम्दानी बढाउने नीति नै दीगो र न्यायोचित हुन्छ,” उनले लेखेका छन्।

महतले फोहोर व्यवस्थापनको लापरबाहीले पर्यावरणीय र जनस्वास्थ्यमा गम्भीर असर परेको पनि बताएका छन्। उनका अनुसार, प्रत्येक वर्ष डम्पिङ साइटमा हुने आगलागी, धुवाँ र दुर्गन्धका कारण हेटौंडाको हावा र वातावरण दूषित हुने गरेको छ। यस्तो आगलागीले बालबालिका, वृद्धवृद्धा र पशुपंक्षीको स्वास्थ्यमा समेत नकारात्मक असर पुर्‍याउँछ।

उनले ठेक्का पाउने कम्पनीहरू नाफामुखी सोचमा केन्द्रित भएर जिम्मेवारी बिर्सने गरेको आरोप पनि लगाएका छन्। “यस्तो गैरजिम्मेवारी रोक्नका लागि उपमहानगरपालिकाले ठेक्का सम्झौतामा दण्ड–जरिवानाको स्पष्ट व्यवस्था गर्नुपर्छ,” उनले सुझाव दिएका छन्।

महतको भनाइमा, “अब समय आएको छ— फोहोर व्यवस्थापनलाई कमाउने मात्र  होइन, नागरिक स्वास्थ्य र सफा सहरको दायित्वको रूपमा हेरिने प्रणालीगत सुधारको।”

उनले उपमहानगरपालिकालाई पारदर्शिता, जिम्मेवारी र जनउत्तरदायित्वका साथ काम गर्न आग्रह गर्दै भनेका छन्, “त्यसैले मात्र हेटौंडा साँच्चिकै सफा, स्वस्थ र उत्तरदायी सहर बन्न सक्छ।”

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.