राक्सिराङमा बालविवाह रोकथाम र कु–संस्कृति अन्त्यका लागि स्थानीय सरोकारवालालाई अभिमुखिकरण

मकवानपुर । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा बालविवाह तथा परम्परागत कु–संस्कृति अन्त्य गर्न शिक्षाको भूमिकामाथि आधारित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE) मकवानपुरको आयोजना तथा राक्सिराङ गाउँपालिकाको समन्वयमा गरिएको उक्त कार्यक्रममा चेपाङ बस्तीका किशोर–किशोरी, महिला समूह तथा स्थानीय सरोकारवालाको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा र हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक तथा NCE नेपालकी प्रदेश सदस्य कुमारी वाइबाले बालविवाहका बेफाइदा, कारण, त्यसका सामाजिक–मानसिक प्रभाव तथा शिक्षाको भूमिकाबारे विस्तृत प्रस्तुति दिएका थिए।

मकवानपुरका पालिकामध्ये सबैभन्दा बढी बालविवाह हुने क्षेत्रमा राक्सिराङ परेकाले यो अभियान विशेष रूपमा सोही पालिकामा केन्द्रित गरिएको आयोजकले जानकारी गराएका छन्।

कार्यक्रममा NCE मकवानपुर (बाल कल्याण समाज), बेन्जामिन स्मृति संस्था संयोजक बुद्धबीर लामा, समृद्ध समाज, रेडियो निकासका सुरेश श्रेष्ठ, शान्ति फाउन्डेसनकी सीता गुरुङ तथा NCE बागमती संयोजक तथा बालकल्याण समाज अध्यक्ष प्रकाश खतिवडागायतको सक्रिय समन्वय रहेको थियो।

अध्यक्ष प्रकाश खतिवडाले लैङ्गिक हिंसा अन्त्य गर्न, लैङ्गिक समानता स्थापना गर्न तथा बालविवाह रोकथाममा बालक र पुरुषको समेत सक्षम सहभागिता आवश्यक रहेको उल्लेख गर्दै तीनै तहका सरकार, नागरिक समाज तथा सरोकारवालाबीच मजबुत समन्वय अपरिहार्य हुने बताए।

स्थानीय समाजसेवी रामचन्द्र प्रजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ नं. वडा अध्यक्ष हरि बहादुर प्रजा प्रमुख आतिथ्यको रूपमा उपस्थित थिए। साथै प्रजा जागृतिका मावि व्यवस्थापन समितिका अध्यक्ष अंकत लामा, विद्यालयकी प्रधानाध्यापक शर्मिला पौडेल, प्रहरी प्रतिनिधि लगायतको पनि सहभागिता थियो।

कार्यक्रमको अन्त्यमा बालविवाह अन्त्यका लागि शिक्षाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
शिक्षाका लागि राष्ट्रिय अभियान (NCE नेपाल) सार्वजनिक शिक्षा सुदृढीकरण तथा शिक्षा अधिकारका पक्षमा कृयाशील देशभरका शिक्षक, पत्रकार, शिक्षाकर्मीसहित ५०८ सामाजिक संस्थाको साझा सञ्जालका रूपमा क्रियाशील छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.