बागमती मन्त्रिपरिषद्का निर्णयहरू;- राजनीतिक नियुक्तिदेखि गरिबी निवारण नीति स्वीकृतसम्म

हेटौंडा । हेटौँडामा बिहीबार बसेको बागमती  प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिएका छन्।

बैठकले स्वास्थ्य सेवा तर्फ ११ औँ तहका अधिकृत डा. अर्जुनप्रसाद सापकोटाको राजीनामा स्वीकृत गरेको छ। साथै, विगतका आन्दोलन तथा द्वन्द्वकालमा हराएका अभिलेखहरूको प्रमाणीकरणका लागि कार्यसम्पादन मूल्यांकनसम्बन्धी नयाँ नीति पारित गरिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी दामोदर केसीको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ भने गरिबी निवारण नीति २०८२ पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।

त्यसैगरी सूचना प्रतिवेदन समितिमा धादिङका कृष्णराज अधिकारीलाई अध्यक्ष र मकवानपुरका अशोक श्रेष्ठलाई सदस्यमा मनोनयन गरिएको छ। वाग्मती प्रदेश विश्वविद्यालयको संरक्षकमा डा. प्रेमनारायण अर्याल नियुक्त भएका छन् भने ‘शैक्षिक छात्रवृत्ति निर्देशिका २०७३’ लाई पनि स्वीकृति दिइएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानको रकम समेत स्वीकृत गरिएको छ। प्रदेश पर्यटन (पहिलो संशोधन) ऐन २०८२ को मस्यौदा प्रदेशसभामा पेश गर्न मन्त्रिपरिषद्ले अनुमति दिएको छ।

यसैबीच त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापनलाई सुदृढ बनाउन संशोधित गठन आदेश २०८२ पारित गरिएको छ। नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंख बुद्ध लामा नियुक्त भएका छन् भने प्रदेश राष्ट्रिय वन ऐन २०८३ (पहिलो संशोधन) प्रदेशसभामा पेश गर्न स्वीकृति दिइएको छ।

सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.