हेटौंडा । मकवानपुरस्थित बकैया गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा भएको पाँच वर्ष पूरा भएको अवसरमा हात्तिसुडेस्थित पालिका सभाहलमा गरिमामय समारोह आयोजना गरेको छ। कार्यक्रम शनिबार गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको सभाध्यक्षता तथा अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
समारोहको विशेष आकर्षणका रूपमा बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। बालमैत्री स्थानीय शासन अवलम्बनपछि यसको दिगोपन सुनिश्चित गर्न संस्थागत रूपमा सक्रिय सहभागिता जनाउँदै बाल संरक्षण क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको जनाइएको छ।
प्रमुख अतिथि अध्यक्ष धर्मराज लामिछानेले बाल भेलाबाट प्राप्त सुझाव तथा मागहरूलाई सम्बोधन गर्दै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी पालिकाले कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले बालमैत्री दिगोपनलाई व्यवहारमै कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याए।
सभाध्यक्ष तथा उपाध्यक्ष भक्तबहादुर खत्रीले बालमैत्री दिगोपनका चुनौतीहरूलाई पालिकाले जिम्मेवारीपूर्वक स्वीकार गरेको उल्लेख गर्दै सामाजिक संस्थाहरूसँगको सहकार्यमा बाल श्रम, बाल विवाह तथा बाल हिंसाविरुद्ध अभियान सञ्चालन भइरहेको जानकारी दिए। उनले विद्यालयमा विद्यार्थीको पहुँच विस्तार, शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यालय छोड्ने दर न्यूनीकरणमा प्रगति भएको दाबी गरे। साथै, प्रकाश खतिवडाको निरन्तर सहकार्यप्रति आभार व्यक्त गर्दै बालमैत्री सहजकर्ताहरूको योगदानको प्रशंसा गरे।
सम्मान ग्रहण गर्दै प्रकाश खतिवडाले सामाजिक संस्थाको योगदानको मूल्यांकन गर्दै सम्मान प्रदान गरेकोमा गाउँपालिकाप्रति कृतज्ञता व्यक्त गरे। उनले उक्त सम्मानले सामाजिक कार्यप्रति थप उत्साह र जिम्मेवारीबोध गराएको बताए।
वडा अध्यक्षहरूले बालमैत्री दिगोपन सुनिश्चित गर्न शिक्षामा लगानी वृद्धि, गुणस्तरीय शिक्षा प्रवर्द्धन, बालमैत्री विद्यालय विकास, बाल सञ्जालको सक्रिय परिचालन तथा बालमैत्री सहजकर्तालाई विशेष जिम्मेवारीसहित परिचालन गर्नुपर्नेमा जोड दिए।
सामाजिक विकास शाखा प्रमुख फटिक रमण प्याकुरेल, बालश्रम फोकल पर्सन रामचन्द्र खडका तथा महिला विकास निरीक्षक होमकुमारी संजेलले बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरूको आवाजलाई सम्मान गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
उक्त अवसरमा सबिन खडका, मञ्जु बजु, कोपिला घिमिरे, गंगा फुयाल, विरे लाल सिंतान, देवराज लामिछाने, भगवती अधिकारी, पदमबहादुर घलान र जयबहादुर भोम्जनलगायतका बालमैत्री सहजकर्ताहरूलाई दिगोपनमा पुर्याएको योगदानका लागि धन्यवादसहित सम्मान गरिएको थियो।
वार्षिकोत्सवकै अवसरमा आयोजित बाल भेलाबाट ससिना बलको अध्यक्षतामा २१ सदस्यीय पालिका स्तरीय बाल सञ्जाल कार्यसमिति गठन गरिएको छ। नवगठित सञ्जालका पदाधिकारी तथा सदस्यहरूलाई उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरूले टीका–मालासहित बधाई ज्ञापन गर्दै बालमैत्री दिगोपनका लागि सक्रियतापूर्वक बाल क्लब सञ्चालन गर्न आग्रह गरेका थिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल तथा वडा अध्यक्षहरू गोपालबहादुर न्यासुर, भुमलसिं घलान, विश्वराज स्यागंतान र मानबहादुर सिन्तानको विशेष आतिथ्यता रहेको थियो। समारोहमा जनप्रतिनिधि, कर्मचारी, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा बालमैत्री अभियानमा संलग्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यससँगै बकैया गाउँपालिकाले पाँच वर्षे यात्राको समीक्षा गर्दै आगामी दिनमा बाल अधिकार संरक्षण, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा बालमैत्री शासनको दिगोपन सुनिश्चित गर्न अझ प्रभावकारी रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।










