हेटौंडा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार प्रशान्त उप्रेतीले मतगणनामा आफ्नो अग्रता कायम राखेका छन्। हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार उप्रेतीले नेकपा एमालेका उम्मेद्वार महेशकुमार बर्तौलालाई झन्डै ७ हजार मतले पछि पारेका छन्।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतगणना अनुसार एमालेका उम्मेद्वार बर्तौलाले ७ हजार १ सय ४२ मत प्राप्त गरेका छन्। यसैगरी, नेकपाका उम्मेद्वारले ६ हजार ९ सय ३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेद्वार बुद्ध लामाले ५ हजार ७ सय ७३ मतसहित चौथो स्थान बनाएका छन्। उज्यालो नेपाल पार्टीका प्रवीनकुमार स्याङ्तानले १ हजार ९ सय ६२ मत प्राप्त गर्दै पाँचौं स्थानमा रहेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी रहेको छ। निर्वाचन क्षेत्र नम्बर–२ मा प्रमुख दलका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा भइरहेका बेला रास्वपाका उप्रेतीले प्रारम्भिक चरणदेखि नै अग्रता कायम राखेका हुन्।











