हेटौंडामा मानव बेचबिखनविरुद्ध अभियान सुदृढ गर्न परामर्श समिति बैठक

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नगरस्तरीय परियोजना परामर्श समितिको बैठक नगर प्रमुख मिना कुमारी लामाको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकमा नगर प्रमुख लामाले महिला तथा बालबालिकाको संरक्षण र सशक्तिकरणलाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। उनले मानव बेचबिखनको जोखिममा रहेका, विद्यालय छाडेका तथा जबरजस्ती श्रम र यौन हिंसामा परेका महिला तथा किशोरीहरूको उद्धार, संरक्षण, सीपमूलक तालिम र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्।

माइती नेपालकी संयोजक माया लामाले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै पीडित तथा जोखिममा रहेका समूहको बौद्धिक क्षमता विकास गरी हिंसाविरुद्ध अभियानकर्ताको रूपमा स्थापित गर्ने र सरकारी–गैरसरकारी निकायसँग समन्वय गरी संयुक्त रूपमा काम गर्ने लक्ष्य रहेको बताइन्। विद्यालय तहमा पनि मानव बेचबिखन, जबरजस्ती श्रम र यौन हिंसाबारे सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरिन्।

प्रस्तुतीकरणका क्रममा उनले कार्यक्रमका मुख्य क्रियाकलाप, लक्षित समूह, अपेक्षित उपलब्धि तथा रोजगारी सिर्जनासम्बन्धी विषयमा जानकारी दिँदै आवश्यक साझेदारी र पालना गर्नुपर्ने मापदण्डबारे प्रकाश पारिन्।

माया लामाका अनुसार पछिल्लो समय मसाज सेन्टरहरूबाट बालिकाहरूको उद्धार हुने क्रम बढ्दो छ भने यौन व्यवसायमा किशोरीहरूको संलग्नता पनि देखिन थालेको छ, जसले गम्भीर ध्यान आवश्यक रहेको संकेत गर्छ।

बैठकमा नगरपालिका तथा विभिन्न सरकारी–गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.