हेटौंडा । सामुदायिक विकास संस्था नेपालको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रविधिको दुरुपयोग तथा मानसिक स्वास्थ्यसम्बन्धी एकदिवसीय सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ।
हेटौंडा–५ पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम सामुदायिक विकास संस्था नेपालको कार्यकारी निर्देशक रमिला सापकोटाको सभाअध्यक्षता तथा वडा नम्बर ५ का अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूको सहभागिता थियो।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र पोख्रेल, विद्यालयका अतिरिक्त संयोजक अमित क्षेत्री लगायतको उपस्थिति थियो।
कार्यक्रममा सहजकर्ता आशिष दुलालले साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण दिएका थिए भने मानसिक स्वास्थ्य विषयमा विनोद ढकालले सहजीकरण गरेका थिए। त्यस्तै, लागुऔषध दुरुपयोग तथा लैङ्गिक हिंसाबारे रमिला सापकोटाले जानकारी दिएकी थिइन्।
संस्थाले उक्त कार्यक्रम हेटौंडाका पाँच विद्यालयमा सञ्चालन गर्ने जनाएको छ। पहिलो दिन बालज्योति माध्यमिक विद्यालय हेटौंडा–५ मा कार्यक्रम सम्पन्न भएको छ भने २३ गते जनजागृति माध्यमिक विद्यालय हेटौंडा–१५, चुरियामाई माध्यमिक विद्यालय हेटौंडा–१५, त्रिभुवन माध्यमिक विद्यालय हेटौंडा–११ र निर्मल माध्यमिक विद्यालय हेटौंडा–३ मा कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।
पछिल्लो समय विद्यार्थीहरूमा देखिँदै आएका विभिन्न समस्यालाई मध्यनजर गर्दै यस्तो सचेतनामूलक कार्यक्रम आयोजना गरिएको संस्थाकी कार्यकारी निर्देशक रमिला सापकोटाले जानकारी दिएकी छन्।











