बालश्रम लगाउनेलाई रातो कार्ड?
जुन १२: बालश्रम विरुद्धको विश्व दिवस

हरेक वर्ष जुन १२ मा विश्वभरि बालश्रम विरुद्धको विश्व दिवस मनाइने गरिन्छ ।  यस दिवसले बालबालिकाको बाल्यकाल, शिक्षा, स्वास्थ्य र समग्र विकासमाथि गम्भीर असर पार्ने बालश्रमको अन्त्यका लागि सरकार, नागरिक समाज, समुदाय तथा सरोकारवालाहरूलाई सचेत र प्रतिबद्ध बन्न प्रेरित गर्दछ। सन् २०२६ को विश्व बालश्रम विरुद्ध दिवसको नारा “बालश्रमलाई रातो कार्ड, बालबालिकालाई निष्पक्ष खेल, वयस्कका लागि मर्यादित काम” ले बालश्रमलाई अस्वीकार गर्दै बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ।

बालश्रम सामाजिक, नैतिक र कानुनी अपराध हो । बालबालिकाले विद्यालयमा बसेर सिक्नुपर्ने, खेल्नुपर्ने, सिर्जनशील बन्नुपर्ने उमेरमा जीविकोपार्जनका लागि श्रम गर्न बाध्य हुनु मानव अधिकारको दृष्टिकोणले गम्भीर उल्लङ्घन हो भन्नुमा अत्युक्ति नहोला ।  नेपालको संविधान २०७२ को धारा ३९ ले प्रत्येक बालबालिकाको शिक्षा, संरक्षण, सहभागिता तथा विकासको अधिकार सुनिश्चित गर्दै कुनै पनि बालबालिकालाई कारखाना, खानी वा अन्य जोखिमपूर्ण कार्यमा लगाउन नपाइने स्पष्ट व्यवस्था गरेको छ। त्यसैले बालश्रम कानुन विपरीत मात्र नभई, बालअधिकार विपरीतको कार्य हो भनी भन्न सकिन्छ ।

नेपालमा विगत केही दशकयता बालश्रम न्यूनीकरणमा उल्लेखनीय प्रगति भए पनि यसको पूर्ण अन्त्य हुन सकेको छैन। विभिन्न अध्ययन तथा समुदायस्तरीय अनुभवहरूले स्पष्ट पारेको छकि बालश्रमका पछाडि अनेकौँ “पुसिङ” (धकेल्ने) र “पुलिङ” (तान्ने) तत्वहरू सक्रिय छन्। गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक विभेद, पारिवारिक विखण्डन, बालविवाह, घरेलु हिंसा र अवसरको अभावले बालबालिकालाई विद्यालयबाट बाहिर धकेल्छन्। अर्कोतर्फ सस्तो श्रमको माग, घरेलु कामदारको आवश्यकता, अनौपचारिक क्षेत्रमा श्रमिकको खोजी तथा कमजोर कानुनी कार्यान्वयनले बालबालिकालाई श्रम बजारतर्फ तान्ने काम गरिरहेको पाईएको छ ।

बालश्रम र बालविवाहबीचको अन्तरसम्बन्ध नेपालका धेरै समुदायमा स्पष्ट रूपमा देख्न सकिन्छ। बालविवाहका कारण विद्यालय छोडेका बालक र बालिका जीविकोपार्जनका लागि श्रममा संलग्न हुन बाध्य भएका घटनाहरू प्रशस्त भेटिन्छन्। विशेषगरी विवाहपछि परिवारको आर्थिक जिम्मेवारी वहन गर्नुपर्ने अवस्था सिर्जना हुँदा उनीहरू निर्माण क्षेत्र, होटल, यातायात, कृषि, घरेलु श्रम तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्न बाध्य हुन्छन्। यस क्रममा श्रम शोषण, न्यून ज्याला, असुरक्षित कार्य वातावरण, यौन दुव्र्यवहार तथा लैङ्गिक हिंसाका घटनासमेत प्रशस्त मात्रामा देखिएका छन्। त्यसैले बालश्रमको अन्त्यका लागि बालविवाह अन्त्य अपरिहार्य छ ।

बालश्रमले बालबालिकाको समग्र विकासमा गम्भीर नकारात्मक प्रभाव पार्ने गर्दछ । शारीरिक रूपमा कठिन र जोखिमपूर्ण कामले उनीहरूको स्वास्थ्य बिगार्ने गर्दछ भने कुपोषण, चोटपटक तथा दीर्घकालीन रोगको जोखिम बढाउँने गर्दछ ।  मानसिक रूपमा तनाव, डर, असुरक्षा र आत्मविश्वासको कमी पैदा हुने गरेको पाईएको छ । बालश्रमले बालबालिकाको  बौद्धिक विकासमा बाधा पु¥याउँदै शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित गराएको टड्कारो रुपमा देखिएको छ । यसैगरी संवेगात्मक तथा सामाजिक विकासमा समेत गम्भिर असर पारेर बालबालिकालाई असुरक्षित, निराश र सामाजिक रूपमा बहिस्करणमा पारेका घटना देखिएको छ ।  बाल्यकालमा परेको यस्तो असरले उनीहरूको मानसपटलमा गम्भिर समस्या पैदा भएकोले समाजको विकास प्रक्रियालाई प्रभावित पार्दैगएको देखिएको छ ।

बालश्रम दिगो विकासका लक्ष्यहरूको प्राप्तिमा समेत ठूलो बाधक बन्दै गएको छ । गुणस्तरीय शिक्षा, गरिबी न्यूनीकरण, लैङ्गिक समानता, स्वास्थ्य, सम्मानजनक रोजगारी तथा असमानता न्यूनीकरणजस्ता लक्ष्यहरू बालश्रम रहँदासम्म पूर्ण रूपमा हासिल गर्न कठिन हुने गर्दछ ।  विद्यालय बाहिर रहेका र श्रममा संलग्न बालबालिका भविष्यमा दक्ष जनशक्तिको रूपमा विकसित हुन सक्दैनन्। यसले गरिबीको चक्रलाई एक पुस्ताबाट अर्को पुस्तासम्म निरन्तरता दिईरहेको छ ।  त्यसैले बालश्रमको अन्त्य सामाजिक न्याय र दिगो विकास दुवैका लागि आवश्यक छ भन्ने बारे निती निर्माता समेतले बुझ्न आबश्यक देखिन्छ ।

नेपालका स्थानीय तहहरूले पछिल्ला वर्षहरूमा बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्दै बालविवाह मुक्त, बालश्रम मुक्त सहितको बालमैत्री पालिका घोषणा गर्ने अभियान सञ्चालन गरेको पाईन्छ । यो सकारात्मक पहल भए पनि व्यवहारमा चुनौतीहरू अझै विद्यमान छन्। कतिपय बालमैत्री घोषणा गरिएका पालिकाहरूमा समेत छिमेकी पालिकाबाट आएका बालबालिका श्रममा संलग्न रहेको देखियो । यसले बालश्रमलाई केवल एक स्थानीय सरकारको समस्या मात्र नभई अन्तरपालिका स्तरीय तथा संरचनात्मक समस्याका रूपमा बुझ्नुपर्ने आवश्यकता छर्लगं पारेको छ । । एउटा पालिकाले मात्र प्रयास गरेर पर्याप्त नहुने रहेछ भन्ने स्पष्ट भएकोले अब सबै स्थानीय तहबीच समन्वित प्रयास हुन  आवश्यक देखिएको छ ।

यस सन्दर्भमा नेपाल सरकारले जारी गरेको “बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७” महत्वपूर्ण दस्तावेज हो। केही स्थानीय तहहरूले सरकार, नागरिक समाज, विद्यालय, बाल क्लब तथा समुदायसँग सहकार्य गरी यस कार्यविधिलाई कार्यान्वयनमा ल्याएका छन्। परिणामस्वरूप बालश्रम पहिचान, उद्धार, पुनस्र्थापना तथा रोकथामका क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त भएका पाईएको छ ।  तथापि यसको प्रभावकारी कार्यान्वयन अझै सबै स्थानीय तहमा हुन सकेको छैन। त्यसैले आवश्यक स्रोत, बजेट, जनशक्ति र राजनीतिक प्रतिबद्धतासहित यसलाई देशभर निरन्तर लागू गर्नु गर्दछ भन्ने अबाज उठेको छ ।

बालश्रम नियन्त्रणका लागि कानुनी तथा नीतिगत सुधार पनि आवश्यक छ। बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ लाई वर्तमान आवश्यकता अनुसार संशोधन गर्नुपर्ने देखिन्छ। बदलिँदो सामाजिक तथा आर्थिक परिवेशलाई ध्यानमा राख्दै किशोरावस्थाका बालबालिकाले सुरक्षित वातावरणमा “पढ्दै कमाउँदै” र “कमाउँदै पढ्दै” गर्ने अवसर प्राप्त गर्न सक्ने व्यवस्था कानुनमै स्पष्ट रूपमा समेट्न आवश्यक देखिएको छ । तसर्थ यसले शिक्षा र सीप विकासलाई जोड्दै जोखिमपूर्ण बालश्रमको विकल्प सिर्जना गर्न मद्दत पु¥याउनेछ भन्ने आम धारणा रहेको पाईएको छ ।

बालश्रम अन्त्यको सबैभन्दा प्रभावकारी उपाय भनेको गुणस्तरीय र सर्वसुलभ शिक्षा हो। सार्वजनिक शिक्षामा पर्याप्त लगानी, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, विद्यालय पहुँच वृद्धि, शिक्षण सिकाइको गुणस्तर सुधार तथा लोकतान्त्रिक शिक्षा प्रणालीको विकास अपरिहार्य छ। जब बालबालिकाले विद्यालयमा गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र भविष्यका अवसर देख्छन्, तब उनीहरू श्रम बजारतर्फ अग्रसर नभई ज्ञान र सीपको मार्गतर्फ आकर्षित हुन्छन् भन्ने धारणा शैक्षिक अभियन्ताहरुको रहेको छ ।

बालश्रम अन्त्य सरकारको मात्र जिम्मेवारी नभई आम अभिभावक, शिक्षक, समुदाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा नागरिक समाज सबैको साझा दायित्व हो भन्ने स्पष्ट भएको छ । अब प्रत्येक नागरिकले आफ्नो घर, कार्यस्थल वा समुदायमा बालश्रम भएको देखेमा त्यसको विरोध गर्न थाल्नु पर्दछ ।  बालबालिकालाई श्रमिकका रूपमा होइन, भविष्यका नागरिकका रूपमा हेर्ने दृष्टिकोण विकास गरिनु पर्दछ । वयस्कका लागि मर्यादित रोजगारी र उचित पारिश्रमिक सुनिश्चित गर्न सकियो भने परिवारको आर्थिक दबाब कम भई बालबालिकालाई श्रममा पठाउने बाध्यता पनि घट्नेछ भनेर नै बयस्कलाई मर्यादित कामको बिषय उठान गरिएका हो ।

अन्ततः, “बालश्रमलाई रातो कार्ड, बालबालिकालाई निष्पक्ष खेल, वयस्कका लागि मर्यादित काम” केवल एक नारामा मात्र सिमित हुनु हुदैन । यो नारा न्यायपूर्ण समाज निर्माणको प्रतिबद्धता हो । बालश्रम र बालविवाह एकअर्कासँग गाँसिएका सामाजिक समस्याहरू हुन्, जसको अन्त्य बिना बालअधिकारको पूर्ण सुनिश्चितता सम्भव छैन। प्रत्येक बालबालिकाले विद्यालयमा पढ्ने, खेल्ने, सिक्ने र सुरक्षित वातावरणमा हुर्कने अवसर पाउन ुपर्दछ । यही अवसर सुनिश्चित गर्न सकेमा मात्र समृद्ध, समावेशी र दिगो नेपालको निर्माण सम्भव हुनेछ भन्ने बिश्वास गर्न सकिन्छ । तसर्थ बालश्रम बिरुद्धको बिश्व दिबशको अबसरमा हामी सबैले एक स्वरमा आबाजलाई बुलन्द पार्दै भन्न सक्नु पर्दछ कि बालश्रमलाई रातो कार्ड, बालबालिकालाई उज्ज्वल भविष्य ।(प्रकाश खतिवडा, बाल कल्याण समाज, मकवानपुर अध्यक्ष हुन्।)

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.