हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१५ सेल्फि रोडस्थित सामुदायिक वनमा बोराभित्र राखेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो करिब १ः५० बजे स्थानीयवासी च्याउ टिप्न जाने क्रममा सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा डग र एसओसीओसहितको टोली खटिएको प्रहरीले जनाएको छ।
बोरा खोलेर हेर्दा हालसम्म नाम, थर र वतन नखुलेकी करिब ३०/३२ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
कानुनी प्रक्रिया पूरा गरी शव हेटौंडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।








