बलात्कार वा यौन हिंसाको कुनै घटना सार्वजनिक हुनेबित्तिकै हाम्रो समाजमा आक्रोशको ठूलो लहर उठ्छ। सामाजिक सञ्जालदेखि चोक–चौतारासम्म एउटै आवाज सुनिन्छ,“दोषीलाई फाँसी देऊ।” पीडितप्रति सहानुभूति, अपराधप्रति आक्रोश र कडा सजायको माग स्वाभाविक हो। यस्ता अपराधमा पीडितले न्याय पाउनुपर्छ, अनुसन्धान प्रभावकारी हुनुपर्छ र दोषीलाई कानुनअनुसार कठोर सजाय हुनुपर्छ। तर एउटा गम्भीर प्रश्न हामीले आफैँलाई सोध्नैपर्छ—फाँसीको माग गरिसकेपछि हाम्रो जिम्मेवारी सकिन्छ तरु अपराध भइसकेपछि अपराधीलाई सजाय दिनु राज्यको दायित्व होस तर अपराध हुनुअघि त्यस्तो सोच, व्यवहार र सामाजिक वातावरण निर्माण हुन नदिनु परिवार, विद्यालय, समुदाय र राज्य सबैको साझा जिम्मेवारी हो।
नेपालको संविधानले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ र धारा १६ अन्तर्गत मृत्युदण्डको व्यवस्था हुने गरी कानुन बनाउन निषेध गरेको छ। त्यसैले नेपालमा सामान्य कानुन बनाएर फाँसीको सजाय लागू गर्न सकिने अवस्था छैन। तर मृत्युदण्ड संवैधानिक रूपमा सम्भव छ कि छैन भन्ने बहसमा मात्र अड्किएर बस्दा हामीले अझ महत्वपूर्ण प्रश्न छुटाउन सक्छौँ—बलात्कार किन हुन्छ र त्यसलाई हुनुअघि रोक्न हामीले के गरिरहेका छौँ? यही प्रश्नबाट अब हाम्रो बहस सुरु हुनुपर्छ।
विश्व स्वास्थ्य संगठनले यौन तथा लैङ्गिक हिंसालाई केवल व्यक्तिगत व्यवहारको समस्या होइन, लैङ्गिक असमानता, हानिकारक सामाजिक मान्यता, शक्ति–सम्बन्ध र असमान अधिकारसँग जोडिएको सार्वजनिक स्वास्थ्य तथा मानवअधिकारको समस्याका रूपमा व्याख्या गर्छ। डब्लुएचओ को २०२५ मा अद्यावधिक गरिएको रेस्पेक्ट वुमन फ्रेमवर्कले हिंसा रोक्न सम्बन्धमा स्वस्थ संवाद र निर्णय क्षमता विकास, महिलाको सशक्तीकरण, सेवा प्रणाली, सुरक्षित वातावरण, बाल तथा किशोर हिंसा रोकथाम र हानिकारक लैङ्गिक सोच तथा सामाजिक मान्यता परिवर्तनजस्ता सात रणनीतिलाई जोड दिएको छ। यसको अर्थ स्पष्ट छ—कानुन र सजाय आवश्यक छन्, तर हिंसा रोक्न सामाजिक सोच र व्यवहार परिवर्तन पनि उत्तिकै आवश्यक छन्।
यही ठाउँमा हामीले आफ्नो भूमिका पुनः हेर्नुपर्ने हुन्छ। यस्ता घटना हुँदा हामी धेरैजसो छोरीका बा–आमा भएर बोल्छौँ। छोरी कहाँ जान्छे, कसरी हिँड्छे, कससँग बोल्छे, कसरी सुरक्षित रहने भनेर सिकाउँछौँ। तर हामीले आफ्ना छोरालाई कति पटक बसेर भनेका छौँ—“अरूको शरीर तिम्रो अधिकार होइन”, “कसैको असहमति स्वीकार गर्नुपर्छ”, “सम्बन्ध भएको व्यक्ति भए पनि उसको इच्छा र सीमा सम्मान गर्नुपर्छ”, “कसैले नचाहेको कुरा गर्न दबाब दिनु हुँदैन”, “अरूको मौनतालाई सहमति नठान”, “अस्वीकृति सुन्दा रिसाउनु पुरुषत्व होइन”रु हामी छोरीलाई सुरक्षित रहन सिकाइरहेका छौँ, तर छोरालाई अरूलाई सुरक्षित महसुस हुने मानिस बन्न कति सिकाइरहेका छौँ? समस्या यही प्रश्नमा छ।
यसको अर्थ बलात्कारको जिम्मेवारी परिवार, समाज वा पीडितमाथि सार्नु होइन। अपराधको जिम्मेवारी अपराध गर्ने व्यक्तिकै हुन्छ। पीडितको कपडा, व्यवहार, समय, स्थान, सम्बन्ध वा सामाजिक अवस्था अपराधको कारण होइन। तर अपराध रोकथामका लागि जोखिम बढाउने सामाजिक सोचलाई परिवर्तन गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो।
किशोरावस्था यस विषयमा विशेष संवेदनशील समय हो। किशोरकिशोरीमा शारीरिक परिवर्तनसँगै आकर्षण, जिज्ञासा, भावना, सम्बन्ध र यौनिकतासम्बन्धी प्रश्नहरू स्वाभाविक रूपमा आउन सक्छन्। त्यसैले यस्ता प्रश्नलाई डर, लाज र गालीले दबाउनु समाधान होइन। उमेरअनुकूल, वैज्ञानिक र जिम्मेवार यौन तथा सम्बन्ध शिक्षा आवश्यक हुन्छ। “बालबालिका तथा किशोरकिशोरीलाई उमेर र विकासको चरणअनुसार यौनिकता, सम्बन्ध, भावना, स्वास्थ्य, लैङ्गिक समानता, अधिकार, जिम्मेवारी र सुरक्षित व्यवहारबारे वैज्ञानिक, प्रमाणमा आधारित र जीवनोपयोगी शिक्षा प्रदान गर्ने अन्तर्राष्ट्रिय मार्गदर्शन।” ले पनि उमेरअनुकूल, प्रमाणमा आधारित यौन शिक्षालाई स्वास्थ्य, लैङ्गिक समानता, सम्बन्ध र अधिकारसँग जोडेर हेर्छ।
तर यौन शिक्षा भन्नासाथ धेरै अभिभावक डराउँछन्—“बच्चालाई यस्ता कुरा सिकायो भने झन् छिटो यतातिर आकर्षित हुन्छ।” यो सोचलाई पनि प्रमाणमा आधारित शिक्षाले चुनौती दिन्छ। यौन शिक्षा भनेको बालबालिकालाई यौन व्यवहारतर्फ उक्साउने शिक्षा होइनस शरीर, व्यक्तिगत सीमा, सम्मान, सम्बन्ध, सहमति, सुरक्षा, लैङ्गिक समानता, जिम्मेवारी र स्वास्थ्यबारे सही जानकारी दिने शिक्षा हो। विशेष गरी किशोरलाई आफ्नो भावना र आकर्षणलाई कसरी जिम्मेवार ढंगले बुझ्ने, अस्वीकारलाई कसरी स्वीकार गर्ने, अरूको सीमा कसरी सम्मान गर्ने र असहज अवस्थामा सहयोग कसरी खोज्ने भन्ने सिकाउनु आवश्यक छ।
यहाँ “सहमति” को विषय अझ महत्वपूर्ण हुन्छ। वयस्कहरूबीचको स्वस्थ यौन सम्बन्धमा स्वतन्त्र, स्पष्ट, स्वेच्छिक र निरन्तर सहमति आवश्यक हुन्छ। तर बालबालिकाको सन्दर्भमा “उसले पनि सहमति दिएकी थिई” भन्ने तर्क कानुनी रूपमा स्वीकार्य हुँदैन। नेपालमा बालबालिकासम्बन्धी यौन अपराधका लागि कानुनले विशेष सुरक्षा दिएको छ। त्यसैले अभिभावक र किशोरकिशोरीलाई सहमति भनेको के हो, कसको सहमति कानुनी रूपमा मान्य हुन्छ, उमेरसम्बन्धी कानुनी सीमा के हो र उल्लङ्घन हुँदा कस्तो कानुनी परिणाम आउन सक्छ भन्ने कुरा सही र उमेरअनुकूल ढंगले बुझाउन आवश्यक छ।
बलात्कारलाई केवल “यौन इच्छा नियन्त्रण गर्न नसकेको घटना” भनेर बुझ्नु पनि अधुरो बुझाइ हो। यौन हिंसामा यौनिकता मात्र होइन, शक्ति, नियन्त्रण, अधिकारबोध, असमानता र अर्को व्यक्तिको स्वायत्तताको अनादर पनि जोडिन सक्छ। डब्लुएचओले पनि पुरुषको नियन्त्रणमुखी व्यवहार, शक्ति असमानता र हिंसालाई सामान्य वा स्वीकार्य ठान्ने सोचलाई यौन तथा सम्बन्ध हिंसासँग सम्बन्धित जोखिम कारकका रूपमा उल्लेख गरेको छ। त्यसैले बलात्कारविरुद्धको शिक्षा “यौन इच्छा नराख” भन्ने शिक्षा होइन, आफ्नो भावना बुझ, तर अर्को व्यक्तिको अधिकार, सीमा र स्वतन्त्र निर्णयको सम्मान गर भन्ने शिक्षा हो।
अब प्रश्न आउँछ—यो शिक्षा कहाँ दिने? घरमा। विद्यालयमा। टोल विकास संस्थामा। युवा क्लबमा। खेलकुद समूहमा। धार्मिक तथा सामाजिक संस्थामा। अभिभावक भेलामा। शिक्षक तालिममा। वडा तहका कार्यक्रममा। स्थानीय सरकारका अभियानमा। सार्वजनिक सञ्चारमाध्यममा। सामाजिक सञ्जालमा। तर एकपटकको भाषणले मात्र पुग्दैन। त्यसैले शिक्षकलाई केवल पाठ पढाउने तालिम होइन, किशोर मनोविज्ञान, लैङ्गिक समानता, बाल संरक्षण, सहमति, सीमाना, हिंसाको पहिचान र सुरक्षित प्रतिक्रिया सम्बन्धी क्षमता विकास आवश्यक छ।
अभिभावकलाई पनि “छोरा बिग्रिन नदिनु” भन्ने सामान्य सल्लाहभन्दा पर गएर किशोरको भावनात्मक परिवर्तन, साथीको प्रभाव, अनलाइन व्यवहार, सम्बन्ध, अस्वीकार, रिस, आवेग र जिम्मेवारीबारे कुरा गर्ने सीप आवश्यक छ। स्थानीय तहका जनप्रतिनिधि, युवा क्लबका अगुवा, सञ्चारकर्मी, कलाकार र सार्वजनिक व्यक्तित्वले पनि केवल घटनापछि आक्रोश व्यक्त गर्ने होइन, निरन्तर रोकथामको सन्देश फैलाउने भूमिका खेल्नुपर्छ।
हामीले आफ्ना छोरासँग यौन र सम्बन्धबारे कुरा गर्न लाज मान्यौँ भने उनीहरूले आफ्नो प्रश्नको उत्तर कहाँबाट खोज्लान्? साथीबाट?सामाजिक सञ्जालबाट?गलत सूचनाबाट?मनोरञ्जनका गलत स्रोतबाट? त्यसैले अभिभावकले मौनता तोड्नुपर्छ। छोराले असहज प्रश्न सोध्यो भने गाली गर्ने होइन, सुन्ने। गलत कुरा थाहा पाए सुधार्ने। उसको भावनालाई अपराध नठहराउने, तर भावनापछि आउने जिम्मेवारीपूर्ण व्यवहार सिकाउने। आकर्षण स्वाभाविक हुन सक्छस तर आकर्षणले अर्को व्यक्तिको इच्छा र सीमालाई रद्द गर्न सक्दैन। यही फरक बुझाउन नसक्दा हामीले किशोरलाई भावनाको भाषा त दिन्छौँ, तर जिम्मेवारीको भाषा दिन बिर्सन्छौँ।
त्यसैले बलात्कारविरुद्धको अभियानमा अब एउटा ठूलो परिवर्तन आवश्यक छ। हामीले छोरीलाई मात्र “सावधान” भन्न छोडेर छोरालाई पनि “जिम्मेवार” भन्न सुरु गर्नुपर्छ। छोरीलाई मात्र “आफ्नो शरीरको रक्षा गर” भनेर सिकाउने होइन, छोरालाई पनि “अरूको शरीर र सीमाको सम्मान गर” भनेर सिकाउनुपर्छ। छोरीलाई मात्र “नाइँ भन्न सिक” होइन, छोरालाई “नाइँ सुन्न र स्वीकार गर्न सिक” भन्नुपर्छ। छोरीलाई मात्र “खतरा चिन्न सिक” होइन, छोरालाई पनि “आफ्नो व्यवहारले अरूलाई खतरा वा असुरक्षा महसुस नहोस्” भनेर सिकाउनुपर्छ।
फाँसीको मागले तत्कालको आक्रोशलाई अभिव्यक्ति दिन सक्छ, तर हिंसा रोकथामका लागि त्यसले मात्र पर्याप्त उत्तर दिँदैन। यसको अर्थ अपराधीलाई सजाय नदिने होइन, यसको अर्थ सजायसँगै रोकथाममा लगानी गर्ने हो। न्याय र रोकथाम एकअर्काका विकल्प होइनन्। दोषीलाई कानुनअनुसार सजाय चाहिन्छ, पीडितलाई न्याय, संरक्षण र पुनर्स्थापना चाहिन्छ, अनि समाजलाई दीर्घकालीन परिवर्तन चाहिन्छ।
आज हामीले आफैँलाई एउटा असहज प्रश्न सोध्ने समय आएको छ—हामीले छोरालाई कति पटक लैङ्गिक समानता सिकायौँ? कति पटक सहमतिको अर्थ बुझायौँ? कति पटक अस्वीकार स्वीकार गर्न सिकायौँ? कति पटक उसको रिस, आकर्षण, जिज्ञासा र आवेगबारे खुलेर कुरा गर्यौँ? कति पटक उसलाई कानुन र नैतिक जिम्मेवारीबारे सम्झायौँ?यदि यी प्रश्नको उत्तर कमजोर छ भने अपराधीलाई गाली गरेर मात्र हाम्रो नैतिक दायित्व पूरा हुँदैन।
हामीले छोरीको सुरक्षा चाहेका छौँ भने छोराको संस्कारमा पनि लगानी गर्नुपर्छ। हामीले महिलालाई सुरक्षित समाज चाहेका छौँ भने पुरुषलाई पनि समानता, सम्मान र जिम्मेवारीको संस्कृति सिकाउनुपर्छ। हामीले बलात्कारविहीन समाज चाहेका छौँ भने अदालत र प्रहरीको ढोका पुग्नुअघि नै घर, विद्यालय र समुदायमा रोकथाम सुरु गर्नुपर्छ।
अन्ततः बहस “फाँसी कि सचेतना?” मा मात्र सीमित हुनु हुँदैन। हामीलाई प्रभावकारी कानुन, निष्पक्ष अनुसन्धान, पीडितमैत्री न्याय, सुरक्षित सेवा, अभिभावक शिक्षा, किशोर शिक्षा, लैङ्गिक समानता, सम्बन्ध कौशल र सामाजिक सोचको परिवर्तन—सबै चाहिन्छ।
त्यसैले आजको वास्तविक प्रश्न “फाँसी दिने कि नदिने?” मात्र होइन। आजको प्रश्न हो—अपराध भइसकेपछि हामी कति रिसायौँ भन्ने होइन, अपराध हुनुअघि हामीले आफ्ना छोराछोरीलाई कति जिम्मेवार बनायौँ?सायद अब समय आएको छ—छोरीको सुरक्षाका लागि बोल्ने समाजसँगै छोराको जिम्मेवारीका लागि पनि बोल्ने समाज बनाउने।किनकि बलात्कारविरुद्धको सबैभन्दा दीर्घकालीन लडाइँ अदालतमा मात्र लडिँदैन। त्यो घरबाट सुरु हुन्छ।








