हेटौंडा । नौ वर्षको उमेरमा टाइफाइड भयो। उपचारको अभावमा आँखाको ज्योति गुम्यो। कक्षा ४ मा पढ्दै गरेका लक्ष्मण सुवेदीको जीवन एकाएक बदलियो। आँखा देख्न छाडेपछि पढाइ रोकियो। परिवारमा पनि उनको भविष्यप्रतिको आशा कमजोर हुँदै गयो। त्यसपछि उनी घरायसी काममा लागे। भेडा चराउने, घाँस काट्नेलगायतका काम गर्दै दिन बित्न थाले।त्यतिबेला सायद उनलाई पनि लागेको थियो।अब जीवन यत्तिमै सीमित हुन्छ। तर, १६ वर्षको उमेरमा उनको जीवनले फेरि मोड लियो। दाइले उनलाई पुन पढ्न प्रेरित गर्नुभयो। बागलुङमा एक जना दृष्टिविहीन शिक्षक भेटेपछि दृष्टिविहीनले पनि पढ्न सक्छन् भन्ने थाहा पाएपछि दाइले भाइलाई पढाउने अठोट गर्नुभयो र बागलुङमा पढ्ने अवसर जुटाइदिनुभयो।१६ वर्षको उमेरमा लक्ष्मणले फेरि किताब समाते। त्यसपछि उनको जीवनमा पढाइ कहिल्यै रोकिएन। २०५७ सालमा उनले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे। पढ्ने तीव्र इच्छाले उनलाई निरन्तर अगाडि बढाइरह्यो। साथीहरूले पढेका सामग्री क्यासेटमा रेकर्ड गरेर रातभर सुन्थे। सुनेरै पाठ सम्झिन्थे। दृष्टि नभए पनि पढाइप्रतिको उनको भोक रोकिएन।
उच्च शिक्षा हासिल गर्ने क्रममा लक्ष्मणले किताबसँगै श्रमलाई पनि साथी बनाए। पोखरामा अध्ययन गर्दै गर्दा उनले अगरबत्ती बनाउने र बेच्ने काम गरे। करिब चार वर्ष त्यही काम गरेर पढाइ खर्च जुटाए। प्लस टु पूरा गरेपछि स्नातक तह अध्ययनका क्रममा उनले पोखराको लेकसाइडमा मसाजको कामसमेत गरे। मसाजबाट उनले महिनामा ५० देखि ६० हजार रुपैयाँसम्म कमाउने गरेको बताउनुभयो। तर, आफ्नो कामबारे खुलेर भन्न भने उनलाई अप्ठ्यारो लाग्थ्यो।
‘समाजले के भन्ला भन्ने लाग्थ्यो। साथीभाइलाई पनि आफ्नो कामबारे भन्न लजाउँथेँ,’ उहाँले विगत सम्झँदै बताउनुभयो। तर, त्यही श्रमले उनको शिक्षा अघि बढाइरहेको थियो। काम गर्दै, पढ्दै र संघर्ष गर्दै उहाँले उच्च शिक्षाको यात्रा जारी राख्नुभयो। २०७६ सालमा डिग्री अध्ययन सुरु गरेका उहाँले अनेक चुनौती पार गर्दै २०७९/८० मा डिग्री पूरा गर्नुभयो ।
डिग्रीको परीक्षामा उनलाई आफ्नै छोराले समेत सहयोग गरे। त्यतिबेला उनका छोरा कक्षा ८ मा पढ्थे। छोराले बुबाले दिएको उत्तर लेखेर परीक्षा दिन सहयोग गरेका थिए।
लक्ष्मणकी श्रीमती पनि दृष्टिविहीन हुनुहुन्छ। उहाँले लोकसेवा तथा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर शिक्षण पेसामा प्रवेश गर्नुभएको छ।
यो परिवारका लागि दृष्टिविहीनता कमजोरी होइन, संघर्ष गरेर अगाडि बढ्ने एउटा परिस्थिति बनेको छ। लक्ष्मणलाई शिक्षक बन्ने चाहना अरू दृष्टिविहीनलाई शिक्षकका रूपमा देखेपछि पलाएको हो।
पोखराको अमरसिंह माध्यमिक विद्यालयमा पढ्दा उनलाई त्यही विद्यालयको शिक्षक बन्ने सपना थियो। आर्थिक अभावका कारण कहिलेकाहीँ आफूले पढ्न नपाएको विद्यालयमै एक दिन शिक्षक भएर फर्कने उनको चाहना थियो। उहाँको त्यो सपना पूरा भयो।
२०७० सालदेखि उनी शिक्षण पेसामा आबद्ध छन्। २०७७ सालदेखि माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिएर नेपाली विषय पढाउँदै आएका छन्।
अहिले उहाँ दृष्टिविहीन र दृष्टि भएका दुवै विद्यार्थी अध्ययन गर्ने विद्यालयमा माध्यमिक तहको नेपाली विषय पढाउनुहुन्छ ।
करिब ५० देखि ६० जना विद्यार्थीलाई नेपाली पढाउने उनी आफ्ना विद्यार्थीको नतिजाप्रति सन्तुष्ट हुनुहुन्छ । नेपाली विषयमा आफ्ना विद्यार्थी वरिपरिका विद्यालयका विद्यार्थीभन्दा पनि उत्कृष्ट रहेको उहाँले बताउनुभयो।
शिक्षक बनेर कक्षाकोठामा प्रवेश गर्दा लक्ष्मणको मनमा एउटा प्रश्न थियो,दृष्टिविहीन शिक्षकलाई विद्यार्थीले कसरी स्वीकार्लान्?
विद्यार्थीसँग आँखामा आँखा जुधाएर कुराकानी गर्न नसक्ने अवस्था थियो। तर उहाँले आफ्नो कमजोरीभन्दा क्षमतालाई अगाडि राख्नुभयो ।
समय बित्दै जाँदा विद्यार्थीले उनलाई शिक्षकका रूपमा स्वीकार गरे।”विद्यार्थीले कहिल्यै यो सरले पढाएको भएन भनेका छैनन्। यो मेरो लागि गर्वको कुरा हो,” उहाँले बताउनुभयो, “मेरो काम हेरेपछि विद्यार्थीले मेरो दृष्टिविहीनता नै बिर्सिएका छन्।”
उहाँको अनुभवमा दृष्टिविहीनताभन्दा मानिसको क्षमता ठूलो हुन्छ। “मेरो क्षमताले मेरो दृष्टिविहीनतालाई छायामा पारेको छ,/ उहाँले बताउनुभयो।
लक्ष्मणले जीवनमा सबैभन्दा ठूलो चुनौती आँखाको ज्योति गुमाउनुलाई मान्नुहुन्छ। तर, त्योभन्दा ठूलो चुनौती समाजमा रहेको दृष्टिविहीनप्रतिको धारणा रहेको उहाँले बताउनुभयो।
“आँखा नदेखेपछि मागेरै खानुपर्छ, केही गर्न सकिँदैन भन्ने सोच थियो। त्यो भ्रम चिर्नु थियो,”उहाँले बताउनुभयो। उहाँले त्यो भ्रम चिर्नुभयो । पढ्नुभयो । काम गर्नुभयो । उच्च शिक्षा हासिल गर्नुभयो । शिक्षक बने। अहिले दृष्टिविहीन शिक्षकहरूको अधिकार र अवसरका लागि पनि आवाज उठाइरहेका छन्।
उनी नेपाल नेत्रहीन संघसँग २०५५ सालदेखि जोडिएका छन्। अहिले संघका केन्द्रीय सदस्य छन्। नेत्रहीन शिक्षक समाजका केन्द्रीय अध्यक्षसमेत रहेका उनी दृष्टिविहीन बालबालिका र युवाले शिक्षा तथा रोजगारीमा समान अवसर पाउनुपर्ने बताउँछन्। लक्ष्मणका अनुसार दृष्टिविहीनलाई अगाडि बढाउन सबैभन्दा पहिले समाजको दृष्टिकोण परिवर्तन हुन आवश्यक छ।
“दृष्टिविहीनलाई हेर्ने दृष्टिकोण र सोच सकारात्मक हुनुपर्छ। त्यसपछि मात्रै उनीहरूले अगाडि बढ्ने अवसर पाउँछन्,”उहाँले बताउनुभयो।
दृष्टिविहीन बालबालिकाका लागि गुणस्तरीय शिक्षा, शैक्षिक सामग्री र प्रविधिमा पहुँच अझै पर्याप्त नभएको उहाँको भनाइ छ।
राज्यले दृष्टिविहीन विद्यार्थी र युवाका लागि सकारात्मक विभेदको सिद्धान्तलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने उहाँले बताउनुभयो।
“कानुन बनाउँदा देख्ने र नदेख्ने दुवैको अवस्थालाई बुझेर सकारात्मक विभेदको सिद्धान्तलाई प्रभावकारी रूपमा लागू गरिदिए सहज हुन्थ्यो,” उहाँले बताउनुभयो। उहाँका अनुसार दृष्टिविहीन विद्यार्थीले पढ्न चाहेर पनि आवश्यक सामग्री र प्रविधिको अभावमा शिक्षा प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्। दृष्टिविहीन युवालाई व्यवसाय तथा रोजगारीमा समेत सहयोग गर्नुपर्ने उहाँको माग छ।
दृष्टि नभए पनि प्रविधिको प्रयोगले उनको अध्ययन र अध्यापनलाई सहज बनाएको छ। मोबाइलमा उपलब्ध विभिन्न एपदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्मले उनलाई अध्ययन, अध्यापन र दैनिक काममा सहयोग गरिरहेका छन्।
‘प्रविधिले गर्दा नै आज म असल शिक्षक बन्न सकेको छु। मोबाइलमा भएका विभिन्न एपले मलाई धेरै कुरामा अगाडि बढ्न सहयोग गरेका छन्,’ उहाँले बताउनुभयो। उहाँका लागि प्रविधि सुविधा मात्रै होइन, आत्मनिर्भरताको माध्यम बनेको छ। लक्ष्मणका अनुसार नेपालभर एक हजारभन्दा बढी नेत्रहीन शिक्षक छन्। दृष्टिविहीनताको अवस्थाका आधारमा उनीहरूका फरक–फरक आवश्यकता छन्। पूर्ण रूपमा नदेख्ने, केही देख्ने तर दैनिक काममा कठिनाइ हुनेलगायत विभिन्न अवस्थाका दृष्टिविहीन व्यक्ति रहेको उहाँले बताउनुभयो।
नेत्रहीन शिक्षकमा महिलाको सहभागिता करिब ३३ प्रतिशत रहेको उहाँको भनाइ छ। नेपालमा झन्डै दुई लाख दृष्टिविहीन रहेको उहाँले बताउनुभयो। नेपाल नेत्रहीन संघका अनुसार संघका शाखा सातवटै प्रदेश, ४६ जिल्ला र ५३ पालिकामा स्थापना भएका छन्। संघका देशभर २ हजार ५२० जना साधारण सदस्य छन्।
९ वर्षको उमेरमा आँखाको ज्योति गुमाएका लक्ष्मणले १६ वर्षपछि फेरि किताब समाते। श्रम गरेर पढे। अरूको सहयोग लिएर परीक्षा दिए। डिग्री पूरा गरे। शिक्षक बने। अहिले आफूजस्तै दृष्टिविहीनहरूको अधिकार र अवसरका लागि आवाज उठाइरहेका छन्।उनको जीवनलाई एउटै वाक्यमा भन्नुपर्दा उहाँले भन्नुभयो, /जीवन संघर्ष हो। कहिल्यै थाक्नु हुँदैन। अरूको कुरा सुन्नुपर्छ, तर निर्णय आफ्नो लिनुपर्छ। आफ्नो कर्ममा निरन्तर लागिरहने हो भने सफल भइन्छ।”
दृष्टिविहीन बालबालिका र युवालाई उहाँको सन्देश पनि यही छ, आफ्नो क्षमतामाथि विश्वास गर्नुस्, सकारात्मक सोच राख्नुस् र उद्देश्यबाट विचलित नहुनुस्। “दुःखले कमजोर बनाउँदैन, संघर्षले सफल बनाउँछ,”उहाँले बताउनुभयो।








