हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित गुम्बा नजिक विद्युत् तार सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आइतबार राति करिब १२ः३० बजे माइतीमाया वाइबाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
वाइबा हाल वैदेशिक रोजगारीमा रहेको र उनका करिब २० वर्षीय छोरा अविनाश वाइबा होटलमा काम गर्न गएको समयमा घरमा कोही नभएको अवस्थामा आगलागी भएको हो। ब्लकले बनेको र टिनले छाएको चारकोठे घरमा विद्युत् तार सर्ट भई आगलागी हुँदा घरभित्र रहेको ग्याससमेत पड्किएको प्रहरीले जनाएको छ।
आगलागीबाट घरसहित घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएका छन्। घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।
प्रहरी, स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलको सहयोगमा राति २ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार आगलागीबाट करिब २ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भएको छ।







