जेठ १८ देखि सुरु भएको यसपालिको मनसुन हाल मध्यबिन्दुमा पुग्दा पनि अपेक्षित मात्रामा वर्षा हुन नसकेको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन सुरुमा सक्रिय देखिए पनि हालसम्मको कुल वर्षा वार्षिक औसतको तुलनामा निकै कम छ।
मधेश प्रदेश र पूर्वी तराईका अधिकांश भूभागहरूमा अझै पनि पर्याप्त वर्षा नहुनु चिन्ताको विषय बनेको छ। विभागका मौसमविद् डेभिड ढकालका अनुसार बागमती र गण्डकीका केही भागमा वर्षा भए पनि मधेशमा ठूलो वर्षा हुने संकेत देखिएको छैन। सोमवार र मङ्गलवारको लागि देखिएको न्यूनचापीय रेखा (मनसुन ट्रफ) दक्षिणबाट नेपालतर्फ सरेको भए पनि त्यसले मध्यम वर्षामात्र गराउने र त्यसपछि प्रणाली कमजोर हुने आँकलन गरिएको छ।जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार साउन ११ गतेसम्म जम्मा ५५२ मिलिमिटर वर्षा भएको छ, जुन वार्षिक औसतको केवल ३७ प्रतिशत हो। सामान्यतया यो समयसम्म कुल वर्षाको झन्डै ५० प्रतिशत भइसक्ने गर्थ्यो।विशेषगरी जनकपुर र सिमरा जस्ता स्थानहरूमा वर्षा अझै कमजोर देखिएको छ। जनकपुरमा वर्षा जम्मा २० प्रतिशतको हाराहारीमा सीमित छ भने सिमरामा त्यसको केही माथि पुगेको छ, जुन अझै पनि औसतको तुलनामा निकै कम हो।
यस वर्षको मनसुन सुरु हुनुभन्दा अगाडि विभागले सरदरभन्दा बढी वर्षाको प्रक्षेपण गरे पनि, हालसम्मको अवस्थाले मधेश प्रदेशलाई राहत मिल्ने अपेक्षा कम देखिन्छ। यसले धान उत्पादनमा प्रत्यक्ष असर पार्ने देखिएको छ।सुक्खा अवस्थाका कारण धान रोपाइँ प्रभावित भएको छ भने उत्पादन लक्ष्य पनि धरमराउन थालेको छ। विगत पाँच वर्षमा देखा परेका विषम खडेरी र बाली चक्रमा देखिएका असरले किसानहरू थप मारमा परेका छन्।
यसरी, मनसुनको कमजोर र असमान वितरणले मधेशका कृषकको पाखुरामा पसीना आउनुअघि नै उनीहरूलाई संकटमा पारेको छ। धान धरापमा परेको यो अवस्था देशको खाद्य सुरक्षामै चुनौती बन्ने संकेत देखिँदैछ।









