हेटौंडा।मकवानपुरबाट ९० नेपालीले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्यांकअनुसार २०६८ मंसिर २१ गतेदेखि असार १९ गतेसम्म ९० जनाले नेपाली नागरिकता त्याग गरेका हुन् ।
नेपाली नागरिकता परित्याग गर्नेमा महिला २१ जना र पुरुष ६९ छन् । धेरैजसो अमेरिका, अष्ट्रेलिया र जापानको नागरिकता प्राप्त गर्न नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा गणेश नेपालीले जानकारी दिनुभयो ।
नेपाली नागरिकता परित्याग गरेपछिमात्र विदेशमा प्राप्त गर्ने भएका कारण नेपाली नागरिकता परित्याग गर्ने गरिएको उहाँले बताउनुभयो । विदेश बस्न नचाहेर नेपालमै फेरि नागरिकता प्राप्त गर्न आएका नेपालीले गैरआवासीय नागरिकता प्राप्त गर्ने नियम छ ।
स्थायीरुपमा बसोवास गर्ने उद्धेश्यसाथ विदेश जानेहरु बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोबास गर्नका लागि नागरिकता त्याग्नेको संख्या बर्सेनि बढ्दै गएको हो । भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्नेहरु मात्र हुने गरे पनि पछिल्ला वर्षबाट भने गैरआवासीय नेपाली नागरिकहरुले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिकता लिन नेपाली नागरिकता परित्याग गर्नेहरु बढेका हुन् । एनआरएनको नागरिकता लिनेहरुमा महिला र पुरुषको संख्या बराबर देखिन्छ ।
वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ । विषेशगरि अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहा“को नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ ।
विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्र अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरुको संख्या बढेको देखिएको हो । त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको छ । केहीले भारतीय नागरिकता पाउनका लागि नेपाली नागरिकता खारेज गर्न निवेदन दिएका जनाइएको छ । लामो समयदेखि वैदेशिक रोजगार साथै डीभी–पीआर लिएर विदेश बसेका र विदेशी नागरिकस“ग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरुले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ ।
युरोप, अमेरिकालगायत विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरुको ग्राफ उकालो लागेको छ । झट्ट हेर्दा संख्या थोरै देखिए पनि मुलुकभर वार्षिकरुपमा भने करिब आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् ।
अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा झन्डै ७१ हजार नेपालीले स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट विदेश गएका थिए । नेपालीहरु पीआर लिएर १ सय ९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ । नेपालीहरु विकसित भनिएका अमेरिका, ब्रिटेन, स्विट्जरल्याण्डदेखि राजनीतिकरुपमा अस्थिर अफ्रिकाका इथिओपियासम्मका विभिन्न देशमा सन् २०२३ मा पुगेको अध्यागमन विभागको तथ्यांक छ । अध्यागमन विभागका अनुसार सो हैसियतमा यात्रा गर्ने पुरुषको संख्या महिलाभन्दा करिब २ हजार ५ सयले बढी छ । स्थायी बसोबासको अनुमतिपत्र लिएर नेपालबाट बाहिरिने अधिकांश नेपाली अमेरिका, युरोप र एसियाका आकर्षक भनिएका गन्तव्यमा गएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ । स्थायीरुपमा नै मुलुक छाडिरहेका नेपालीको वास्तविक आँकडा बाहिर ल्याउन सन् २०२३ मा पहिलो पटक सरकारले अलग्गै किसिमले अभिलेख राखेर उक्त तथ्यांक सार्वजनिक गरेको अधिकारीहरु बताउँछन् ।
कानुनले नचिन्ने व्यक्ति कसरी नेपाली ?
हामी विदेश किन जान्छौं ? विदेशीहरु नेपाल किन आउँछन् ? अवश्य पनि घुम्न, नयाँ कुरा हेर्नका लागि । प्रायःजसो मुलुकले पर्यटन क्षेत्रलाई विदेशी मुद्राआर्जनको प्रमुख स्रोत बनाएका छन् । नेपाली सँस्कृति, सम्पदा हेर्न विभिन्न मुलुकबाट विदेशीहरु आउँछन् । सम्पदा क्षेत्रमा भ्रमण गर्न जान उनीहरुले सेवाशुल्क तिर्छन् ।
नेपालीहरु विभिन्न मुलुक पुगेका छन् । रोजगारी र शिक्षाका लागि हजारौं नेपाली अमेरिका, अस्ट्रेलिया, युरोप, क्यानडालगायत मुलुकमा छन् । विकसित मुलुकमा रहेका नेपालीहरुले यहाँको नागरिकता त्याग्छन्, त्यहींको नागरिकता लिन्छन् । नेपाली नागरिकता त्यागेपछि उनीहरु विदेशी भए । उनीहरु केही दिन वा महिनाको भिसा लगाएर नेपाल आउँछन् । विभिन्न सम्पदास्थल भ्रमणमा जान्छन् । विदेशी नागरिक भइसकेका उनीहरुबाट सेवाशुल्क किन नलिने, नेपाली अनुहार छ, नेपाली बोल्न जानेको छ भन्दैमा किन छुट ?
आफ्नो मर्जीले नेपाली नागरिकता त्यागेकाहरुले अन्य विदेशीझैं सरकारलाई राजस्व तिर्नुपर्ने हो । तर, यहा“ आएर पनि राजस्व छल्छन् । आवश्यक पर्यो भने पुरानो नागरिकता देखाइदिन्छन्, सकियो । नेपाली नागरिकता त्यागिसकेकालाई नेपालको संविधानले चिन्दैन । उनीहरुले नागरिकता खारेजीका लागि सीडीओ कार्यालयमा दिएको निवेदनमा तोक लगाएर गृह मन्त्रालय पुगेपछि नागरिकता खारेज गरिन्छ ।
नागरिकता खारेज गरेको पत्र दिएपछि अर्को मुलुकले त्यहाँको नागरिकता दिन्छ । नेपालमा जन्मिने, पढ्ने, हुर्किने अनि विदेश लाग्ने । विदेश जाँदा यहाँको लाखौं रुपियाँ लैजाने । त्यहाँ गएर काम गर्ने, अर्काको देशलाई समृद्ध बनाउने । नेपाली नागरिकता त्याग्ने, नेपाल आउ“दा भिजिट भिसा लगाएर आउने अनि विभिन्न जिल्लामा घुम्न जाँदा म नेपाली भन्ने । राजस्व छल्नकै लागि नेपाली हो भनिदिने ? पैसा तिर्न नपरोस् भनेर आफूलाई नेपाली बताइदिने । नेपाली कानुनले नचिन्ने व्यक्ति कसरी नेपाली ? जुन दिन उनीहरुले नेपाली नागरिकता खारेजीको निवेदन दिन्छन्, त्यस दिनदेखि उनीहरुको नेपाली भन्ने अधिकार खोसिन्छ ।
नेपालमा उनीहरुको कुनै हैसियत हुँदैन । नेपालीहरु यस्ता छन् कि, नागरिकता चाहिँदैन तर सम्पत्ति चाहिन्छ । आफ्नो बाउबाजेको सम्पत्ति बेचेर आफू नागरिक बनेको देशमा लगेर घर किन्छन् ।










