हेटौंडा । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले “नेप्से एआई” नामक एप्समार्फत शेयर बजारको कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी उच्च नाफा कमाउन सकिने भन्दै सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक प्रचारबाट सावधान रहन आम सर्वसाधारणलाई आग्रह गरेको छ।
गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयको सीआईबी शाखाले जारी गरेको विज्ञप्ती अनुसार, पछिल्ला दिनमा फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका माध्यममार्फत उक्त एप्स डाउनलोड गर्न प्रेरित गरिने, अनुप्रयोग स्थापन गरेपछि टाढाबाट नियन्त्रण गर्ने सेवा (रिमोट सेसन) खोली प्रयोगकर्ताको मोबाइल पर्दा नियन्त्रणमा लिइने, बैंक खातामा रहेको सम्पूर्ण रकम अन्यत्र सारिने र डिजिटल उपकरणमा भएको सम्पूर्ण तथ्याङ्क मेटाइने जस्ता घटना बढिरहेका छन्।
विज्ञप्तीमा जनाइए अनुसार, हालै एक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनमार्फत उक्त एप्स डाउनलोड गरी स्थापन गरेपछि, उनको मोबाइल पर्दा केही समय कालो भएको र विभिन्न बैंक खातामा जम्मा रहेको करिब २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा सारिएको थियो। त्यसपछि मोबाइलमा रहेका सम्पूर्ण तथ्याङ्क र अनुप्रयोग समेत मेटाइएको सीआईबी ले जनाएको छ।
यस्ता घटनाबाट बच्न सीआईबीले निम्न सावधानी अपनाउन आग्रह गरेको छ:
१. सम्भव भएसम्म छोटा सन्देश सेवा (एसएमएस) मार्फत दुई तहको सुरक्षा प्रयोग गर्ने।
२. गोप्य शब्द (पासवर्ड) समय-समयमा परिवर्तन गर्ने।
३. विज्ञापन लिङ्कबाट आएका अपरिचित अनुप्रयोगहरू कहिल्यै पनि स्थापन नगर्ने।
४. आफ्नो डिजिटल उपकरणमा एनीडेस्क, टिम भ्युअर जस्ता टाढाबाट नियन्त्रण दिने सेवा कसैलाई पनि नदिने।
५. केवल आधिकारिक स्रोत (गुगल प्ले स्टोर, आइओएस एप स्टोर) बाट मात्र अनुप्रयोग डाउनलोड गर्ने।
प्रहरीले यस्ता घटना घटेको थाहा पाउनासाथ सम्बन्धित बैंक वा वित्तीय संस्था, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तत्काल खबर गर्न अनुरोध गरेको छ।









