मकवानपुरमा कर्णालीझैं यात्रा: जहाँ हुन्छ हुट र झ्याल समातेर यात्रा

हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिका–९, अठारेस्थित भित्री सडकखण्डमा ‘यात्रुबाहक’ सवारीसाधन दुर्घटना हुँदा ९ जना घाइते भए । मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा. १५ च १३३३ नम्बर सवारीसाधन गत बैशाख २४ गते विहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भए ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट मनहरी र हेटौंडा बजारसम्मको दैनिक यात्रा स्थानीयका लागि एक कठिन र जोखिमपूर्ण कार्य बनेको छ । सडक पूर्वाधार कमजोर हुनुका साथै पर्याप्त सार्वजनिक यातायात अभावले स्थानीय लामो समयदेखि सास्ती खेप्दै आएका छन् ।
पालिकाका मुख्य सडकहरु अझैसम्म पनि मर्मत तथा स्तरोन्नति नहुनुका कारणले यात्रा अत्यन्त कठिन बनेको छ । मनहरी बजार वा हेटौंडा आउनका लागि प्रयोग हुने बोलेरो जस्ता सवारीसाधनमा अधिक भीडभाडबीच महिला, पुरुष तथा बालबालिका हुटमा बसेर वा झ्यालको फ्रेम समातेर यात्रा गर्न बाध्य छन् ।
स्थानीयका अनुसार वर्षाको समयमा त झन् सडक जोखिमपूर्ण बन्छ र दुर्घटनाको सम्भावना पनि बढ्ने गर्छ । पटकपटक सम्बन्धित निकायलाई जानकारी गराइए पनि समस्या समाधान नभएको स्थानीयको गुनासो छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट निकट भएर पनि राक्सिराङ अझै पनि यातायात तथा पूर्वाधारको न्यूनतम् सुबिधाबाट वञ्चित रहनु दुःखद् भएको सरोकारवालाहरु बताउँछन् । राक्सिराङ गाउँपालिकामा सार्वजनिक यातायात नचल्दा स्थानीयले जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।
गाउँको अवस्था राम्ररी चिनेका पत्रकार रामकुमार एलनका अनुसार प्रत्येक वर्ष असुरक्षित यात्राका कारण कयौंले ज्यान गुमाउने गरेका छन् । ‘सामान ढुवानीका लागि प्रयोग हुने गाडीमा चढेर यात्रा गर्नुपर्ने बाध्यता छ,’ एलनले भने–सडक निर्माण भए पनि यातायात सञ्चालनमा नआउँदा समस्या झन् बढेको छ । पालिका क्षेत्रभित्र पिच सडक बने पनि यातायातसाधन सञ्चालनमा नआउँदा स्थानीय सास्ती खेपिरहेका छन् । पालिकाले सडक पूर्वाधार बनाएको भए पनि बस तथा अन्य सार्वजनिक सवारीसाधन चलाउने व्यवस्था नहुँदा जोखिमयुक्त यात्रा गर्नुपरेको उनीहरु बताउँछन् । स्थानीयहरु अब पालिकासँग सार्वजनिक यातायात सञ्चालनको माग गरिरहेका छन् ।
जोखिमपूर्ण यात्रा राक्सिराङ गाउँपालिकाबासीका लागि बाध्यता रहेको बताउँदै पालिका अध्यक्ष राजकुमार मल्लले कि १४/१५ घण्टा पैदल हिँड्नुपर्छ, त्यो पैदल हिँड्नु नपरोस् भनेर जोखिमपूर्ण यात्रालाई रोक्न नसकेको बताए । ‘बोलेरोमा ४ सिट हुने र त्यसले इन्धन खर्च पनि नउठ्ने हुँदा कानुन मिचेरै चलिरहेका छन् बोलेरो,’ उनले भने–कच्ची सडक र सानो बाटो बर्खाको बेला कष्टपूर्ण छ । स्थानीय र चालक कानुन भन्दा आफ्नो सहजता हेरेर यात्रा गर्ने गरेका छन् । पालिकाले प्रहरीलाई भन्दा रोक्न सकिन्छ तर १४ घण्टा पैदल हिँड्नुपर्ने कारण हामी मौन छौं ।
‘मकवानपुरको कर्णाली’ भनेर चिनिने पालिकाको पहलमा ९ महिने बाटो सुरु भएको छ । उक्त बाटोमा पहिरो हेरेर गाडी गुडाउनुपर्छ । ‘१२ महिने बनाउन र सहजरुपले बस सञ्चालन गर्न पालिकाले संघ र प्रदेशमा माग गरेर १२ महिने बाटोका लागि पुल आवश्यक र रोड परमिटका लागि लागिरहेका छौं । रोड परमिट बनाइएपछि इन्स्योरेन्स हुने हुँदा गाडी सिटअनुसार यात्रा गर्न गराउन सहज हुने हुँदा मागसहित प्रक्रिया अगाडि बढाइएको छ । अब डेढ वर्षमा १२ महिने सहज बाटो निर्माण गरी कष्टकर यात्रा अन्त्य गर्ने गरी लागिपरेका छौं,’ उनले भने ।
दुरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढ दशकअगाडि नै जोडिएका थिए भने कतिपय हालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन् । मकवानपुरको सदरमुकाम हेटौंडा बजारआसपास पालिकामा सडक पक्की बनेका छन् । गाउँपालिका पुग्ने र बाक्लो बस्ती भएका गाउँका सडक पक्की भएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका र मनहरी गाउँपालिकाका केही सडक पक्की भए पनि बिकट गाउँका सडक निकै कच्ची छन् । राक्सिराङका धेरै सडक कच्ची छन् । ओहोरदोहोर गर्नका लागि स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । मकवानपुरका दुर्गम गाउँ। त्यसमाथि साँघुरो र जोखिमपूर्ण सडकका कारण दुर्घटनाको जोखिम उच्च छ । कच्ची सडकहरुमा पनि ट्याक्टर र अटो त गुढेका छन् । तर, निकै जोखिम रहेको स्थानीय श्यामबहादुर स्याङ्तान बताउँछन् ।
मकवानपुरका बिकट गाउँका स्थानीयले सडकको स्तरोन्नति माग गर्दै आए पनि सुनुवाइ नभएको गुनासो छ । गाउँमा सीमित सवारीसाधन चल्ने हुँदा स्थानीय जोखिम मोल्न बाध्य भएको राक्सिराङका बासिन्दाहरु बताउँछन् । केही वर्षअगाडि नागरिकको सुबिधाका लागि सडक खुले पनि स्तरोन्नतिमा सरोकारवाला स्थानीय र प्रदेश सरकारको ध्यान नपुगेका कारण समस्या बेहोर्नुपरेको स्थानीय बताउँछन् । सडक अप्ठ्यारो हुँदा सहज र समयमै गन्तव्यमा पुग्न नसकिने हुन्छ ।
सडक राम्रो नहुँदा र ढुवानी महंगो हुँदा गाउँमा उत्पादन हुने कृषिउपज बजार पु¥याउन पनि साह्रै समस्या भएको भन्दै रामबहादुर लो भन्छन्–दुर्गम गाउँ भए पनि धेरै वर्षअगाडि यहाँ सडक आएको थियो, सडकले हामीलाई धेरै राहत दियो तर हालसम्म स्तरोन्नति हुन नसक्दा धेरै दुःख पनि पाइएको छ । हामीले सरकारलाई धेरै पटक सडक बनाउन माग गरयौं । तर, हालसम्म सुनुवाइ भएन, बजार गएर आउन एक दिन पूरै लाग्छ । सामान ढुवानीमा उस्तै समस्या, भाडा पनि महंगो तिर्नुपर्ने अवस्था छ । बाटो सजिलो हुन्थ्यो भने यात्रा गर्न र सामान ढुवानीमा सुबिधा हुने थियो ।
बिकट गाउँपालिका जनप्रतिनिधि र स्थानीयले यस्ता समस्या पटकपटक पोख्दै आएका छन् । पालिकाका जनता हाल पनि वर्षको आधाभन्दा बढी महिना कन्दमुलकै भरमा जीवनयापन गर्न परिरहेको, भौगोलिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य चेतनाको विकास गर्न आवश्यक छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.