मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताको विश्वास र भोटको सम्मान गर्दै गरिबमुखी, जनमुखी, न्यायमुखी र आयमुखी काममार्फत समग्र विकासमा आफू क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।
मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक आफ्नै निर्वाचन क्षेत्र मकवानपुर-२(ख) अन्तर्गत मनहरी गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रममा सहभागी हुँदै बानियाँले भने, “अब म याे वा त्याे पार्टी नभनी, जनताको आवश्यकता हेरेर निष्पक्ष रूपमा विकासका काम गर्छु।”
विशेष प्राथमिकता: लामिटार–चकरी–मकरी सडक कालोपत्रे
कार्यक्रममा बानियाँले लामिटार–चकरी–मकरी सडकलाई विशेष प्राथमिकता दिई कालोपत्रे गरिने र अन्य पुल, सडक तथा पूर्वाधार विकासमा समेत ध्यान दिने बताएका छन्। उनले हरितालिका तीजलाई सभ्य, भव्य र सुसंस्कृत रूपमा मनाउन पनि सुझाव दिएका थिए।
जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता
मुख्यमन्त्री बानियाँले भने, “मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले ठूलो योगदान गर्नुभयो। यहाँको जनताको मर्म अनुसार जिम्मेवारी पूरा गर्छु।”
कार्यक्रमको अध्यक्षता र अन्य सहभागिता
मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलगायत उपस्थित थिए।
गाउँपालिकाले मुख्यमन्त्री बानियाँलाई बधाईसहित सम्मानपत्र प्रदान गर्दै आफ्नो क्षेत्रबाट मुख्यमन्त्री बन्न सफल भएकोमा खुसी व्यक्त गरेको छ।
जनसुनुवाइ र नागरिकको गुनासो सुन्ने कार्य
उक्त दिन मुख्यमन्त्री बानियाँले मनहरीस्थित सम्पर्क कार्यालयमा पुगेर आम नागरिकका समस्या र गुनासो समेत सुनेका थिए।
यो कार्यक्रम बागमती प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वयमा जनउत्तरदायी शासनको संकेतका रूपमा हेरिएको छ।











