हेटौंडा । मकवानपुर जिल्लामा क्रियाशील ८ वटा उपचार तथा पुनर्स्थापना केन्द्रहरूको समोपस्थितिमा बुधबार एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठको अध्यक्षतामा तथा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेँलको उपस्थितिमा सम्पन्न बैठकले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा पुनर्स्थापना केन्द्रहरूको प्रभावकारी सञ्चालनबारे तीनवटा महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकमा सहभागी केन्द्र संचालकहरूबीच भएको छलफलबाट, लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि जिल्ला स्तरमा व्यापक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने सहमति भएको छ। यस अभियानको माध्यमबाट मकवानपुरलाई लागूऔषध नियन्त्रणको क्षेत्रमा ‘नमूना जिल्ला’ को रुपमा विकास गर्ने लक्ष्य लिइएको छ।
दोस्रो निर्णयअनुसार, उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ को दफा ९ अनुसार गठित जिल्ला अनुगमन तथा समन्वय समितिमा २०८२/०८३ का लागि बृज अफ होप संस्थाका सञ्चालक गोकर्ण बहादुर ठकुरीलाई सदस्य पदमा मनोनित गर्ने सहमति भएको छ।
तेस्रो निर्णयमा भने, अनुगमन समितिले पुनर्स्थापना केन्द्रहरूमा गरेको अनुगमनको क्रममा देखिएका कैफियतहरूको पालना गर्ने केन्द्रमाथि जिल्ला प्रशासन कार्यालयबाट नविकरण तथा सिफारिसको प्रक्रिया अगाडि बढाइनेसहमति गरिएको छ।
बैठकबारे जानकारी दिँदै सिआन पुरुष पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डिसीले अनुगमन, सहकार्य र पारदर्शितामार्फत पुनर्स्थापना केन्द्रहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।











