मकवानपुरमा लागुऔषधसहित भारतीय नागरिक र दुई महिला पक्राउ

मकवानपुर । मकवानपुरमा प्रहरीले लागुऔषधसहित दुई फरक घटनामा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र दुई नेपाली महिला रहेका छन्।

सुमो गाडीमा लुकाएर लागुऔषध तस्करी

२०७२ भदौ ८ गते बिहान ९:२५ बजे, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा भारतको रक्सौलबाट काठमाडौंतर्फ जाँदै गरेको BR O1 PB1802 नम्बरको भारतीय सुमो गाडी चेकजाँच गर्दा ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध फेला परेको हो।

गाडीमा सवार भारत उत्तर प्रदेश, बहराइचका किस्मत अली (३५ वर्ष)र शाहरुख अली (२८ वर्ष) को साथबाट ५,८५० एम्पुल लागुऔषध  फेला परेको प्रहरीले जनाएको छ। ती एम्पुलहरूमा Phenergan, Noophin र Diazepam रहेका छन्। साथै, Tramadol नामक लागुऔषधयुक्त क्याप्सुल २४० थान पनि बरामद गरिएको छ।

उक्त लागुऔषध सुमो गाडीको पछाडिको साइड बडीभित्र कालो प्लास्टिकमा लुकाई छिपाई ल्याइएको अवस्थामा फेला परेको हो। गाडी र लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

महिलाको साथबाट हेरोइन र नाम नखुलेको सेतो पदार्थ बरामद

यसअघि, २०७२ भदौ ७ गते बेलुकी ८:३० बजे, सोही चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा पथलैयाबाट हेटौंडातर्फ आइरहेको प्र.३-०३-००१ ह १०३ नम्बरको अटो रोकेर जाँच गर्दा दुई महिलाको साथबाट लागुऔषध फेला परेको हो।

पक्राउ पर्नेमा जिल्ला बारा, जितपुर सिमरा–२२ की २९ वर्षीया सम्झना थिङ र सिन्धुली, दुधौली–९ की २३ वर्षीया सोनिका क्षेत्री रहेका छन्। उनीहरूको साथबाट ३ ग्राम १५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र २२ ग्राम २० मिलिग्राम नाम नखुलेको सेतो गिलो पदार्थ बरामद गरिएको छ, जुन मोबाइल चार्जरभित्र लुकाइएको अवस्थामा फेला परेको हो।

प्रहरीले दुवै महिलालाई लागुऔषध कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.