आमाबुबाको बेवास्तापछि अभिभावक बने उपमेयर बानियाँ

हेटौंडा।हेटौंडा उपमहानगरपालिका–१२ की दुई किशोरीको जीवनमा आशाको नयाँ किरण देखिएको छ । उपमहानगर उपमेयर राजेश बानियाँले १६ र १५ वर्षीया दिदीबहिनीको सम्पूर्ण संरक्षणको जिम्मेवारी लिएका छन् ।
पूर्वी मकवानपुरको फापरबारी स्थायी घर भएका ती किशोरीहरु आमाबाबुको सम्बन्धविच्छेदपछि आमासँग हेटौंडा–१२, पदमपोखरीमा बस्दै आएका थिए । आमाले पुनर्विवाह गरेपछि उनीहरुको पालनपोषणको जिम्मा बाबुले लिएका थिए । तर, विदेशमा रहेका बाबुले ‘छोरीहरुका लागि खर्च नगर्नू’ भन्ने निर्देशन दिएपछि ती किशोरीहरुलाई घरमा बस्न असहज भयो ।
आखिर, बाध्यताले उनीहरु असार ५ गते घर छाडेर हिँड्न बाध्य भए । दिदी काठमाडौंतिर गइन् भने कान्छी बहिनी हेटौंडामै एक होटलमा काम गर्न थालिन् । दुवै किशोरी बुद्ध माध्यमिक विद्यालय, पदमपोखरीमा कक्षा–९ मा अध्ययनरत् थिए । विद्यालयकी शिक्षक मीना लामाले परीक्षा दिन अनुपस्थित भएपछि उनीहरुको खोजी सुरु गरिन् । लामो समयदेखि घरको वातावरण असहज भएको गुनासो गर्दै आएका ती किशोरीबारे चिन्तित लामाले खोजतलास गर्दैगर्दा होटलमा काम गरिरहेकी बहिनीलाई फेला पारिन् । परिस्थितिबारे बुझेर उनले उपमेयर बानियाँसँग सम्पर्क गरिन् ।
बिहीबार साँझ सम्पर्कमा आएका उपमेयर बानियाँले सबै कार्यक्रम स्थगित गरेर शुक्रबार विहान विद्यालयमा पुगेर ती किशोरीसँग भेट गरे । परिस्थिति बुझ्नेबित्तिकै उनले कोठा खोजी गरी विद्यालयनजिक राख्ने व्यवस्था गरे । उनीहरुको बसोबासका लागि आवश्यक सबै सामग्री व्यवस्थापन गरिदिए । काठमाडौंमा रहेकी दिदीलाई बोलाएर सुमोको टिकटसमेत काटिदिए ।
उपमेयर बानियाँले कोठाभाडादेखि लिएर पढाइ, खाना, लुगाफाटालगायत सम्पूर्ण खर्चको जिम्मेवारी लिँदै सुरक्षित र आत्मविश्वासी जीवनयापनका लागि आवश्यक सहयोग पु¥याउने वाचा गरे । यही क्रममा वडा अध्यक्ष अर्जुन तिवारीले भविष्यमा पनि कुनै कठिनाइ परे सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले शिक्षाक्षेत्रमा विशेष बजेट छुट्याइएको जानकारीसमेत दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र घलान र प्रधानाध्यापक किशन थापाले विद्यालयले गर्नसक्ने सबै प्रकारका सहयोग ती किशोरीहरुलाई प्रदान गर्ने बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.