हेटौंडा । फापरबारी स्थायी घर भई हाल हेटौंडा-१२, पदमपोखरीमा बस्दै आएका १६ र १५ वर्षीया दुई दिदीबहिनीको जीवनमा एक नयाँ आशा र उज्यालोको किरण बनेका छन् – उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ।
आमाबाबुको सम्बन्ध विच्छेदपछि आमासँग बस्दै आएकी यी दुई किशोरी आमाले पुनः विवाह गरेपछि असहज अवस्थामा परे। बाबुले विदेशबाट ‘छोरीलाई खर्च नगर्नू’ भन्ने निर्देशन दिएपछि घरमै बस्न कठिन भयो। बाध्य भएर असार ५ गते उनीहरू घर छोडेर छुट्टाछुट्टै ठाउँतिर लागे — दिदी काठमाडौँतिर गइन् भने कान्छी हेटौंडामै एक होटलमा काम गर्न थालिन्। यद्यपि, उनीहरू दुबैजना बुद्ध माध्यमिक विद्यालय, पदमपोखरीमा कक्षा ९ मा अध्ययनरत थिए।
यस कठिन अवस्थामा उपमेयर बानियाँले यी किशोरीहरूको सम्पूर्ण संरक्षणको जिम्मेवारी लिए। व्यक्तिगत रूपमा कोठा खोजिदिने, पढाइ, खाना, लुगाफाटो लगायत सम्पूर्ण खर्च बेहोर्ने, सुरक्षा र आत्मविश्वासका लागि आवश्यक वातावरण सिर्जना गर्ने जस्ता काममा सक्रिय रूपमा संलग्न भइदिए।
उपमेयर बानियाँले किशोरीहरू बस्ने घरको घरधनीसँग सम्पर्क गरी रेखदेखको जिम्मा पनि लगाएका छन्। उनले भने, “भविष्यमा यी दुई छोरीलाई कानुन शिक्षा दिएर अधिवक्ता बनाउने सपना बोकेको छु। चाहे मेरो पद रहोस् या नरहोस, म अभिभावकको भूमिकामा निरन्तर रहनेछु।”
उनले थपे, “मेरा दुई सन्तान थपिए जस्तो लागिरहेको छ। यी छोरीहरू मेरो परिवारको हिस्सा हुन्।”










