आत्महत्यासम्बन्धि समाचारमा राष्ट्रिय मार्गदर्शन पालनाको सुझाव

हेटौंडा। विश्वभर आत्महत्या एक गम्भीर सार्वजनिक स्वास्थ्यको समस्या बन्न पुगेको सन्दर्भमा मकवानपुरमा कार्यरत् नागरिक समाजका प्रतिनिधिहरुले सामाजिकसञ्जालमा आत्महत्यासम्बन्धि प्रसारण हुने भ्रामक, तथ्यहीन तथा कपोकल्पित सामग्रीमाथि निगरानी र नियमन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
‘दैनिक २० जनाको ज्यान गइरहेको सन्दर्भमा सामाजिकसञ्जालले संवेदनशीलता देखाउनुपर्छ’ भन्ने सन्देशसहित बुझाइएको ज्ञापनपत्रमा आत्महत्यासम्बन्धि समाचार सार्वजनिक गर्दा आत्महत्या रोकथामसम्बन्धि सञ्चारकर्मीका लागि मार्गदर्शन–२०८० अनुसार कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ–टिकटक, फेसबुकलगायत सामाजिकसञ्जालमा प्रसारित केही तथ्यहीन, अतिरञ्जित तथा असंवेदनशील सामग्रीले आममानिसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने र आत्महत्याको जोखिम अझ बढाउने खतरा छ । त्यसैले यस्ता सामग्रीको नियमन अपरिहार्य छ ।
ज्ञापनपत्रमार्फत् नागरिक समाजले केही विषयमा विशेष जोड दिएको छ । उसले आत्महत्या प्रोत्साहन गर्ने सामाजिकसञ्जाल सामग्रीहरुमा निगरानी र नियन्त्रण, आत्महत्यासम्बन्धि समाचार प्रकाशन/प्रसारण गर्दा राष्ट्रिय मार्गदर्शन पालना, मानसिक स्वास्थ्यसम्बन्धि आपत्कालीन हेल्पलाइन नम्बर ११६६ को व्यापक प्रचारप्रसार, साइबर ब्युरोमा दर्ता हुने उजुरीहरुप्रति तुरुन्त कार्यान्वयन र आवश्यक कदम चाल्न, स्थानीय तह र जिल्लास्तरमा आत्महत्या रोकथामका कार्यक्रम र छलफलको वातावरण सिर्जना, विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना र कार्यालय तहमा कर्मचारीका लागि मानसिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन माग गरिएको छ । आत्महत्या रोकथामका लागि सञ्चारमाध्यमको भूमिका गम्भीर र उत्तरदायित्वपूर्ण रहनुपर्ने उनीहरुको दाबी छ ।
ज्ञापनपत्र प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादे र मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसमक्ष कार्यक्रम संयोजक सुनिरा लामाको नेतृत्वमा बुझाइएको थियो । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा आव २०७९/०८० मा ७ हजार ५५ जनाले आत्महत्या गरेका थिए, जुन संख्या प्रतिदिन झण्डै २० जनाको दरले बढिरहेको देखिन्छ । मकवानपुरमा अघिल्लो वर्ष १ सय ३१ जनाले आत्महत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.