मकवानपुर। पछिल्लो सुरक्षा अवस्थाका कारण मकवानपुर जिल्लामा आज (बिहीबार) देखि निषेधाज्ञा र कफ्र्यु आदेश लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र ६(क) अनुसार आदेश जारी गरिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठका अनुसार, अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लागू हुनेछ। त्यसपछि बेलुकी ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कफ्र्यु लागू हुने छ।
अत्यावश्यक कामका लागि बिहान ६ देखि १० बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने व्यवस्था गरिएको छ। यस अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स, शववाहन, दमकल, औषधी, खाद्यान्न, इन्धन, दूध, तरकारी तथा पशुपंक्षीको दाना ढुवानी गर्ने सवारी सञ्चालनमा रोक नलाग्ने जनाइएको छ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले परिचयपत्र देखाई कार्यस्थलसम्म जान पाउने छन्। अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हवाई यात्रुहरूले पनि टिकट देखाई सुरक्षाकर्मीको समन्वयमा विमानस्थलसम्म आवतजावत गर्न सक्ने छन्।
निषेधाज्ञा र कफ्र्यु अवधिमा पाँच जनाभन्दा बढी मानिस भेला वा जम्मा हुन नपाइने आदेशमा स्पष्ट उल्लेख गरिएको छ। आदेश उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।











