मकवानपुर । मकवानपुर जिल्लामा लागुऔषध कारोबार विरुद्धको अभियानमा सक्रिय प्रहरीले मंगलबार र सोमबार गरी दुई फरक घटनामा ठूलो परिमाणको गाँजा र खैरो हेरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान ६ बजे इलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसेको संयुक्त टोलीले भिमफेदी गाउँपालिका–२, भैसे चेकपोष्टमा पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा २ ख ३२१९ नम्बरको भाडाको कन्टेनर गाडी जाँच गर्ने क्रममा १५७ किलो १२० ग्राम गाँजा बरामद गरेको हो।
गाडीको पछाडिको डिब्बामा लुकाएर बिक्री वितरणका लागि ल्याइएको अवस्थामा गाँजा भेटिएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का ४१ वर्षीय चालक बिर बहादुर तामाङलाई नियन्त्रणमा लिई लागुऔषध कसुरमा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सोमबार साँझ ८ बजे हेटौंडा–१२, सिक्रेनीस्थित उमेश लामाको घरमा लागुऔषध बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो।
त्यस क्रममा हेटौंडा–१२ का २५ वर्षीय उमेश लामा र हेटौंडा–१३ का २९ वर्षीय विनोद गुरुङलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ५ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो।
पुलिसका अनुसार उनीहरूले झोलाभित्र सानो–सानो पुरीया बनाई लुकाएर राखेका थिए। दुवै जनालाई लागुऔषध कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको जनाइएको छ।










