मकवानपुर । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले बिहिवार सूचना जारी गर्दै विशेष गरी हेटौंडा–कुलेखानी–ललितपुर सडकखण्डमा बिहान ४ बजेदेखि ६ बजेसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ। साथै, काठमाडौंबाट हेटौंडातर्फ यात्रा गर्ने सवारीका लागि बिहान ५ बजेदेखि ६ बजेसम्म यात्रा निषेध गरिएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न, साथै पहिरो र बाढीको उच्च जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। जोखिमका सम्भावित क्षेत्रहरूमा विशेष सावधानी अपनाउन भनिएको छ।
साथै, स्थानीय सुरक्षा निकाय, टोल विकास समिति, स्वयंसेवक तथा विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि सबै निकायबीच सहकार्य र सूचनाको आदान–प्रदानमा जोड दिइएको छ।
जिल्ला प्रशासनले बासिन्दाहरूलाई सचेत रहनुका साथै आवश्यक सूचना प्राप्त गर्नका लागि आधिकारिक स्रोतको पछ्याउन पनि अनुरोध गरेको छ।











