मकवानपुर । मानव अधिकार आयोग बागमती प्रदेशले मकवानपुर जिल्लामा रहेका पुनर्स्थापना केन्द्रहरूको अनुगमन गरेको छ। आयोगका प्रदेश प्रमुख चन्द्रकान्त चापागाईं र केन्द्रिय प्रतिनिधि रबिना घिमिरेको उपस्थितिमा हेटौंडा उपमहानगरपालिकाभित्र रहेका दुई पुनर्स्थापना केन्द्रमा निरीक्षण गरिएको हो।
बुधबार भएको अनुगमनमा हेटौंडा–९ लामसुरे हाइटस्थित सिआन पुरुष पुनर्स्थापना केन्द्र र हेटौंडा–४ स्थित मकवानपुर रिकभरिङ्ग समूहमा पुगिएको थियो।
मकवानपुर रिकभरिङ समूह
२०७० सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको मकवानपुर रिकभरिङ समूहमा हाल १६ देखि ५८ वर्ष उमेर समूहका ५४ जना पुरुष उपचाररत छन्। यद्यपि केन्द्रको क्षमता ३५ जनाको मात्र हो। पुराना बिरामीहरूलाई निकाल्न नसकिने र नयाँ बिरामीहरूको चाप बढ्दै गएको कारण क्षमता भन्दा बढी सेवा दिनु परेको जनाइएको छ।
स्थानीय बासिन्दाले पुनर्स्थापना केन्द्रको कामप्रति सकारात्मक धारणा व्यक्त गर्दै समाजमा सुरक्षाको अनुभूति भएको बताएका छन्। अनुगमनका क्रममा खासै गम्भीर समस्या वा कमजोरी नदेखिएको आयोगले जनाएको छ।
सिआन पुरुष सुधार केन्द्र
अर्को अनुगमन गरिएको सिआन पुनर्स्थापना केन्द्रमा ९० जनाको क्षमता रहेकोमा हाल ५६ जना पुरुष उपचाररत छन्। यहाँ १७ देखि ७२ वर्ष उमेर समूहका बिरामीहरू रहेका छन्। यो केन्द्रले प्रत्येक वर्ष दुई जनालाई निशुल्क उपचार सेवा पनि प्रदान गर्दै आएको पाइएको छ।
मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाईंले सिआन केन्द्रको प्रशंसा गर्दै सेवा,सुविधा र उपचार सबै क्षेत्रमा उत्कृष्टता रहेको बताएका छन्।
अनुगमनमा बागमती प्रदेश फोकल पर्सन मनिष मान श्रेष्ठ र संचारकर्मीको उपस्थिति थियो।
मकवानपुर जिल्लामा हाल ७ वटा पुनर्स्थापना केन्द्र सञ्चालनमा छन्। आयोगले तीमध्ये २ वटा केन्द्रको मात्रै अनुगमन गरेको हो। बाँकी केन्द्रहरूमा पनि नियमन र सुधारका लागि चरणबद्ध रूपमा अनुगमन गरिने जानकारी दिइएको छ।










