मुख्यमन्त्री बानियाँद्वारा विपन्न दलित महिला मिठुमाया सुनारलाई घर हस्तान्तरण

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो व्यक्तिगत सेवा–सुविधाबाट संकलित रकम प्रयोग गरी मकवानपुरको मनहरी गाउँपालिका–९ की एकल दलित महिला मिठुमाया सुनारलाई पक्की घर निर्माण गरिदिनुभएको छ। आइतबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बानियाँले उक्त घर हस्तान्तरण गर्नुभएको हो।

मुख्यमन्त्रीमा नियुक्त भएपछि बानियाँले राज्यका तर्फबाट प्राप्त सेवा–सुविधा नलिने घोषणा गर्दै ती सुविधा विपन्न नागरिकको जीवनस्तर सुधारमा खर्च गर्ने प्रतिवद्धता जनाउनुभएको थियो। उक्त प्रतिबद्धता अनुसार उहाँले पहिलोपटक सुनारको घर निर्माण गरिदिनुभएको हो।

तीन कोठा र शौचालयसहितको घर निर्माणमा कुल ७ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ४ लाख ६५ हजार रुपैयाँ मुख्यमन्त्री बानियाँले व्यक्तिगत रूपमा खर्च गर्नुभएको हो। घर पिल्लरसहित ब्लकको पर्खाल र जस्ताले छाएको छ।

घर हस्तान्तरणसँगै मुख्यमन्त्री बानियाँले आयआर्जनका लागि मिठुमायालाई नगद २० हजार रुपैयाँ पनि हस्तान्तरण गर्नुभएको छ।

मिठुमायाको परिवार विगत केही वर्षदेखि अत्यन्तै दुःखमा थियो। श्रीमान्ले गरिबीकै कारण आत्महत्या गरेपछि छ जना सदस्य भएको परिवार झुप्रोमा जीवनयापन गर्न बाध्य थियो। मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको सिफारिसमा सुनार परिवारलाई सहयोग गर्ने निर्णय भएको हो।

मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्र मकवानपुर–२ (ख) का अन्य दुई विपन्न परिवारका लागि पनि व्यक्तिगत खर्चमै घर निर्माण गराइरहनुभएको छ। तीमध्ये राक्सिराङ गाउँपालिका–१ इन्द्रुङ्गका सुमनसिं चेपाङ र कैलाश गाउँपालिका–४ धुस्राङका लालकुमार प्रजा चेपाङका लागि घर निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार यी दुबै घर कात्तिक महिनाभित्र सम्पन्न गरी हस्तान्तरण गरिनेछ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले आफूले गरिब, दलित र विपन्न वर्गलाई लक्षित गरी राजनीति गरिरहेको बताउँदै भन्नुभयो,”५ लाख रुपैयाँमा एउटा घर निर्माण गर्न सकिन्छ। यदि सरकार गम्भीरताका साथ लागेमा ५० करोड रुपैयाँ खर्च गरेर १,००० विपन्न परिवारका लागि घर बनाइदिन सकिन्छ। साथै, प्रत्येक परिवारका लागि २ लाख ५० हजार रुपैयाँ आयआर्जन कार्यक्रममा लगानी गरे २५ करोड रुपैयाँमा १,००० परिवारको जीवनस्तर माथि उठाउन सकिन्छ।”

घर हस्तान्तरण कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, वडा नं. ९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ लगायत स्थानीय नेता तथा नागरिकको उपस्थिति थियो।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.