छठको रौनकमा उज्यालो राप्तीतट

हेटौंडा । नेपालीहरुको महान् पर्व दशैं र तिहार सकिएसँगै हेटौंडामा छठको रौनक छाएको छ । तराई मधेशमा निकै महत्वकासाथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रका हिन्दु धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन् ।

छठ पुजाका लागि हेटौंडाको राप्तीतटमा पनि विभिन्न किसिमका बत्ती र झिलीमिलीले सजाइएको छ । छठ पुजा समारोह युवा समिती सचिव राहुल दास सिन्दुरिया छठ पुजा मधेशमा मात्र नभइ पछिल्लो समय सबै हिन्दु धर्मावलम्बीको विशेष पर्व बन्दै गएको बताए । पछिल्ला वर्षहरु भन्दा यस वर्ष छठ पुजा गर्नेको संख्या बढ्ने अनुमानसाथ सोहीअनुसार तयारी गरिएको दासले बताए । अघिल्लो वर्ष करिब ५० हजारले पूजा अवलोकन गरेको उनले बताए । छठ पुजालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको छ ।

छठ पुजामा युवा समिती सचिव राहुल दास सिन्दुरियाले पानी निशुल्क बाढ्ने जानकारी दिए । सेवामा खटिने प्रहरीलगायत अन्यलाई चियापानको कार्यक्रम समेत गरिने छ। राती घाटमा बस्ने भक्तालुलाई चिया र आवश्यकता अनुसारको ओढ्ने ओछ्याने समेत समितीले व्यवस्थापन गर्ने उनले बताए ।

अघिल्लो वर्ष भन्दा यस वर्ष भक्तजन र अवलोकन गर्न आउनेको संख्या बढ्ने अनुमान रहेको र त्यहीअनुसार व्यवस्थापन गरिएको छ । अघिल्लो वर्ष ६ फिटको पण्डाल बनाइएको तर यस वर्ष लम्बाई ६ सय ५० फिट र चौडा ३० फिटको पण्डाल बनाइएको उनले बताए । छठी माईको पुजा गरेपछि मनले चिताएको पूरा हुने आस्थाले तीन दिनसम्म पानीसमेत नखाइ व्रत बस्ने र तीन दिनको दिन विहान सूर्यलाई अर्घ्य दिएर व्रत सक्ने परम्परा छ । छठ पुजा सजावट कार्यका लागि हेटौंडास्थित सुपारेटार ब्यारेकका नेपाली सेनाको सहयोग रहने उनले बताए ।

पुजामा सामुदायिक प्रहरी उप केन्द्र बसपार्क, सामुदायिक प्रहरी पशुपतिनगर र सामुदायिक प्रहरी थानाभर्याङको नागरिक सहायताकक्ष रहने जानकारी पाएको उनले बताए । भिड बढ्ने हुँदा सुरक्षाका लागि सुरक्षाकर्मी खटाइने पनि उनले बताए ।

पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन आज ‘नहाय-खाय’ सम्पन्न गरेका छन् । लोकआस्थाको महापर्व छठको भोलि दोस्रो दिन व्रतालुले ‘खरना’ विधि गर्ने छन् ।

भोलि बिहानबाट पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खीर कुलदेवता र छठी देवीलाई चढाइ व्रतालुले त्यही खीर खाने छन् । यस विधिलाई ‘खरना’ भनिन्छ । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मंसिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खीर केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रुपमा खाने गर्छन् । दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्र दर्शन गरेर यस विधि सम्पन्न गरेका छन् ।

पर्वको तेस्रो दिन कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।

सप्तमीका दिन बिहान व्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्ठान्न परिकार र केरासहितका फलफुल सूर्यदेवलाई देखाउने चलन छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठेकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुर्‍याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठेकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी-जाँतोमा कुटिएको, पिसिएको पिठोबाट तयार गरिन्छ । पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वसाथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेशी मुलका हिन्दुले मात्र मनाउँदै आएका यस पर्व अब पर्वते मुलका हिन्दु पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत व्रतालुलाई अर्घ्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन् । यसले छठ पर्वलाई साझा बनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.