हेटौंडामा जेन जेड आन्दोलनका क्रममा आपराधिक उपद्रव र आगजनीमा संलग्न ५ जना पक्राउ

हेटौंडा । भदौ २४ गते जेन जेड आन्दोलनका क्रममा मकवानपुरको हेटौंडामा भएको आपराधिक उपद्रव, तोडफोड र आगजनी घटनामा संलग्न पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–११, नवलपुर निवासी ४५ वर्षीय सुशिल पौडेलको घरमा आगजनी तथा तोडफोड गरेको आरोपमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको छ। उनीहरूविरुद्ध आपराधिक उपद्रव तथा लुटपाटसम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही दिन बागमती प्रदेश सभा सचिवालयको भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला सर्लाही बरथवा नगरपालिका–१ की २७ वर्षीया पुनम ठाकुर, सोही स्थानका २७ वर्षीय प्रमोद महतो र हेटौंडा–८ का ४३ वर्षीय सागर घताने (रोमबहादुर घताने) लाई समेत प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइँदैछ र घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.