हेटौंडा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा “निर्णायक तहमा महिलाको अर्थपूर्ण भूमिका” विषयक सार्वजनिक कार्यक्रम बुधबार मानव अधिकारका लागि महिला एकल महिला समूह, मकवानपुरद्वारा आयोजित कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष शारदा चौलागाईंले सभापतित्व गरेकी थिइन्।
कार्यक्रममा ११ नं. वडाअध्यक्ष जुना दाहाल, १ नं. वडा सदस्य इश्वरी रसायली, ५ नं. वडा सदस्य रन्जिता सिलवाल, १७ नं. वडा सदस्य उर्मिला चुनारा, महिला बालबालिका तथा समावेशीकरण शाखा प्रमुख विष्णु कुमारी लामिछाने, अधिवक्ता अप्सरा बस्नेत, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, बाल मानव अधिकार संगठनकी अध्यक्ष शर्मिला श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य विष्णु माया थपलिया, कार्यक्रमकी सह-आयोजक अधिकृत अप्सरा अर्याल लगायत एकल महिलाहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रम सञ्चालन समूहकी सचिव कल्पना आचार्यले गरेकी थिइन्।
कार्यक्रममा सहभागिता जनाएका एकल महिलाहरूले आफूहरू आज पनि विभिन्न प्रकारका दुर्व्यवहार, सामाजिक तिरस्कार र मनोवैज्ञानिक दबाब सहन बाध्य हुनुपरेको अनुभव साझा गरे। कतिपय वडाहरूले एकल महिलाका लागि छुट्टै बजेटसमेत नथपेको गुनासो सहभागीहरूले राखे।
प्रमुख अतिथि मिना कुमारी लामाले महिलाहरू नेतृत्वमा पुगे पनि थुप्रै समस्याबाट मुक्त हुन नसकेको उल्लेख गर्दै महिलाहरूले आफैँलाई सशक्त बनाउँदै अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिइन्। उनले एकल महिलाहरूको भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दै सबै महिलालाई सामाजिक चुनौतीका विरुद्ध दृढतापूर्वक लड्न प्रेरित गरिन्।
हेटौंडा उपमहानगरपालिकाका सबै वडाका महिला जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा महिलाले निर्णय तहसम्म पुगे पनि आवाजको प्रभावकारी सुनुवाइ नहुने गुनासो राखे। महिला मुद्दामा निरन्तर आवाज उठाउँदा पनि समुचित सुनुवाइ नपाएको दुःख उनीहरूले व्यक्त गरे।
कार्यक्रम ३४ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित गरिएको हो।










