भीमफेदी सुमो दुर्घटना;कम्पनीबारे ‘गोपनीयता’ अपनाउँदै प्रहरी

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आइतबार साँझ भएको सुमो दुर्घटनाको २४ घण्टा बितिसक्दा पनि प्रहरीले दुर्घटनाको ठोस कारण र सुमो कुन कम्पनीको हो भन्ने खुलाउन चाहेको छैन ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना. १ ज १७७८ नम्बर सुमो सडकबाट करिब १ सय मिटर तल खोल्सामा खस्दा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । यति गम्भीर दुर्घटनापछि पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रारम्भिक अनुसन्धानमै अस्पष्टता देखाएको भन्दै आलोचना बढ्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीले सुमो कुन कम्पनीमा दर्ता रहेको भन्ने विषयमा आफूहरु अझै बेखबर रहेको प्रतिक्रिया दिएका छन् । २४ घण्टा बितिसक्दा पनि सार्वजनिक यातायातसँग जोडिएको यति संवेदनशील विवरण नखुलाउनु प्रहरीको गैरजिम्मेवारी भएको गुनासो मृतकका आफन्तहरुले गरेका छन् ।
सार्वजनिक सवारीसाधनको दुर्घटनामा यति धेरै मानवीय क्षति हुँदा पनि दुर्घटनाको कारण, सवारी सञ्चालन गर्ने काउन्टर र व्यवस्थापन पक्षबारे स्पष्ट जानकारी नआउनु नेपालमा सडक सुरक्षा र नियमन प्रणाली कति कमजोर छ भन्ने अर्को उदाहरण बनेको सरोकारवाला बताउँछन् ।
डीएसपी बोगटीका अनुसार मृतकका परिवारसँग छलफलपछि किरियाखर्च र बिमाबराबर रकम उपलब्ध गराउने ‘सहमति’ भएको छ । सहमतिपछि दुई जनाको शव परिवारले बुझिसकेका छन् भने बाँकी शव हेटौंडा अस्पतालमा छ ।  तर, सहमति कोसँगै भएको भन्ने कुरा बोगटीले खुलाउनु भएन। उहाँले भन्नुभयो –भोलि मुद्धामा बुझ्नुस् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सिडिओ वसन्त अधिकारीकाअनुसार दुर्घटनापछि विपद् व्यवस्थापनसम्बन्धी बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार बैठकले विपद् व्यवस्थापन समिति गठन गर्ने र सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायलाई थप जिम्मेवार र सचेत गराउने निर्णय गरेको छ ।
उपचारका क्रममा मृत्यु हुनेमा भारत बिहार राज्यको पटना बस्ने करिब ४२ वर्षीय रजनिस कुमार, हेटौंडा–४ कमलडाँडा बस्ने ४० वर्षीया सबिता लम्साल, हेटौंडा–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्यकै बेगुसराइ बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार तथा हेटौंडा–१० भुटनदेवी टोल बस्ने ५६ वर्षीय कृष्णप्रसाद फुयाँल छन् । एक जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा सुमोचालक हेटौंडा–४ कर्राचोक बस्ने करिब ४५ वर्षीय गणेश थापा छन् । उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ । हेटौंडा–४ कमलडाँडा बस्ने सबिताका १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने २१ वर्षीया रिचा चौधरी पनि घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.