संघर्षले खारिएकी अप्सरा बस्नेत ; नेपालकी पहिलो महिला मुख्य न्यायाधिवक्ता

हेटौंडा । दोलखाको दुर्गम गाउँमा जन्मिएकी एक बालिकाले दस वर्षको उमेरमै बाल्यकाल गुमाइन्। आमाको जीवन र परिवारको जिम्मेवारी उनका काँधमा आयो। खेल्ने, पढ्ने र रमाउने उमेरमै घरधन्दा, भाइबहिनीको स्याहार र बिरामी आमाको हेरचाह गर्दै हुर्किएकी अप्सरा बस्नेत आज देशकै पहिलो महिला मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा पुगेकी छन्।

तत्कालीन माटी गाविसको बिसुनटोलमा जन्मिएकी बस्नेत आर्मीका सिपाही नारायण बस्नेत र भक्तकुमारी बस्नेतकी जेठी छोरी हुन्। साउनेपानी विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेपछि उनको जीवनले अप्रत्याशित मोड लियो। वि.सं. २०५१ साल माघमा आमाले कान्छी छोरी जन्माएपछि गम्भीर स्वास्थ्य समस्या देखियो। चार दिने सुत्केरी आमाको प्रेसर अत्यधिक बढेपछि उनी बेहोस भइन्। गाउँमा गरिएको उपचारले काम गरेन। बुवा आर्मी सेवामा भएकाले आमाको अवस्था चिठीमार्फत थाहा पाएपछि मात्र उनलाई काठमाडौंको आर्मी अस्पताल लगियो।

आमा सात महिना अस्पताल बस्दा घरमा दस वर्षे अप्सराले तीन बहिनी र एक नवजात शिशुको जिम्मेवारी सम्हालिन्। विद्यालय छुट्यो। घरधन्दा, खाना पकाउने, घाँस काट्ने, भाइबहिनीको स्याहार र आमाको उपचार—सबै दायित्व उनकै काँधमा आयो। अस्पतालमा आमालाई औषधि खुवाउनेदेखि लुगा लगाइदिने र कपाल कोर्ने कामसमेत उनले गरिन्। आमाको अवस्था यस्तो थियो कि अरूको सहाराबिना एक पाइला पनि हिँड्न सक्ने अवस्था थिएन।

वि.सं. २०५२ मा परिवार हेटौंडा सरेपछि उनले बालज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा भर्ना पाइन्। तर लामो समय पढाइबाट टाढा रहँदा अक्षरसमेत बिर्सिएको अवस्था थियो। कक्षामा उनी डराउने, बोल्न नसक्ने विद्यार्थीका रूपमा चिनिन थालिन्। आमा र भाइबहिनीको स्याहारमा व्यस्त हुँदा नियमित पढ्न पाउने अवस्था थिएन।

कक्षा ८ पछि भने उनको पढाइमा क्रमशः सुधार आयो। आमाको स्वास्थ्य पनि बिस्तारै सुध्रँदै गयो। वि.सं. २०५८ मा एसएलसी उत्तीर्ण गरेकी बस्नेतले व्यवस्थापन विषयमा प्लस टु र मकवानपुर बहुमुखी क्याम्पसबाट बीबीएस पूरा गरिन्।

वि.सं. २०६३ मा ज्ञानेन्द्र शाहसँग विवाह गरेपछि काठमाडौंको अनामनगरमा डेरा गरी बसिन्। सुरुमा फर्निचर पसलमा न्यून तलबमा काम गरिन्। पछि विद्यालयमा जागिर खाइन्। यही क्रममा उनले कानुन पढ्ने निर्णय गरिन्। नेपाल ल क्याम्पसमा एलएलबी अध्ययन गर्दै बिहान कलेज र दिउँसो स्कुल सम्हाल्नु उनका लागि चुनौतीपूर्ण थियो।

एलएलबी पहिलो वर्षको नतिजामा दुई विषयमा ‘फेल’ भएपछि उनी मानसिक रूपमा हल्लिइन्। जीवनमा पहिलो पटक असफलताको सामना गरेकी बस्नेतका लागि त्यो क्षण निर्णायक बन्यो। त्यसपछि उनले अझ दृढताका साथ पढाइलाई निरन्तरता दिइन्।

वि.सं. २०६८ मा एलएलबी उत्तीर्ण गरिन्। २०६९ मा पहिलो सन्तानकी आमा बनिन्। २०७० मा कानुन व्यवसायको लाइसेन्स पाएपछि उनले व्यावसायिक वकालत सुरु गरिन्। सुरुका दिनमा उनले कानुन क्षेत्रमा महिलालाई हेर्ने दृष्टिकोणका कारण निराशा पनि भोग्नुपर्‍यो। तर परिवार, विशेषगरी श्रीमानको समर्थनले उनलाई अघि बढ्न प्रेरित गर्‍यो।

हेटौंडामा बहस अभ्यास सुरु गरेकी बस्नेतले पहिलो मुद्दामै सफलता हासिल गरिन्। त्यसपछि जिल्ला कानुनी सहायता समितिमा काम गर्दै उनले सयौं पीडितका मुद्दा निःशुल्क बहस गरिन्। ती दिनलाई उनी आफ्नो जीवनको सबैभन्दा अर्थपूर्ण समय मान्छिन्।

जिल्ला अदालत मकवानपुरमा दुई हजारभन्दा बढी र उच्च अदालत पाटनमा ६ सयभन्दा बढी मुद्दामा बहस गरेकी बस्नेतको सफलता दर ९६ प्रतिशत रहेको छ। १२ वर्षभन्दा बढी समय न्याय क्षेत्रमा सक्रिय रहँदै उनले उल्लेखनीय अनुभव संकलन गरिन्।

वि.सं. २०७५ मा जिल्ला बार एसोसिएसन मकवानपुरको अध्यक्षमा पराजित भए पनि उनी निराश भइनन्। २०७९ मा पुनः उम्मेदवारी दिँदै विजयी भइन् र दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरिन्।

यसै यात्राको निरन्तरतामा बस्नेतले देशमै पहिलो पटक महिला मुख्य न्यायाधिवक्ताको जिम्मेवारी पाएकी छन्। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा नियुक्त उनी प्रदेश सरकारकी प्रमुख कानुनी सल्लाहकारको भूमिकामा रहेकी छन्। प्रदेश सरकारका तर्फबाट कानुनी राय, सल्लाह र अदालतमा प्रतिनिधित्व गर्ने जिम्मेवारी अब उनको काँधमा छ।

बस्नेत भन्छिन्, महिलाले आफ्नो क्षमतामाथि विश्वास गरे कुनै पनि क्षेत्र असम्भव हुँदैन। आफूले सामना गरेका चुनौतीलाई उनले कमजोरी होइन, सिकाइको रूपमा लिएको बताउँछिन्।

बाल्यकालको पीडा, संघर्ष र निरन्तर प्रयासको परिणामस्वरूप अप्सरा बस्नेत आज न्याय क्षेत्रको उच्च जिम्मेवारीमा पुगेकी छन्। उनको यात्रा व्यक्तिगत सफलतामात्र होइन, नेपाली महिलाको सम्भावनाको प्रतिनिधि कथा बनेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.