सिआनको तीन महिनाको लागुऔषध विरुद्ध अभियान अन्तर्गत थाहामा पहिलो कार्यक्रम सम्पन्न

मकवानपुर । मकवानपुर जिल्लामा लागुऔषध दुर्व्यसन बढ्दो चुनौतीको समाधानका लागि ३ महिनासम्म चल्ने लागुऔषध विरुद्ध अभियान माघ ८ गतेबाट सुरु गरिएको छ। अभियान अन्तर्गत जिल्लामा रोकथाम, उपचार, पुनर्स्थापना र सामाजिक पुनःएकीकरणलाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।

अभियानको पहिलो पालिका कार्यक्रम सोमबार थाहा नगरपालिकामा सम्पन्न भएको छ। सो अवसरमा पालिका समन्वय बैठक आयोजना गरी जिल्लामा लागुऔषध प्रयोगकर्ताको अवस्था, समस्या र समाधानका उपायहरूमा छलफल गरिएको थियो। साथै, २०७६ सालमा गृह मन्त्रालयद्वारा स्थानीय तहलाई दिइएको कार्यान्वयन निर्देशनप्रति पनि ध्यानाकर्षण गराइएको थियो।

थाहा नगरपालिकामा तीन कार्यक्रम सञ्चालन गरिएको थियो। श्री जनकल्याण माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई जनचेतनामूलक कार्यक्रममार्फत लागुऔषधको दुष्प्रभावबारे सचेत गराइएको थियो। नगरपालिकाको प्रवेशद्वारमा होर्डिङ बोर्ड राखिएको थियो भने शिखरकोटको बजारस्थित ३ क्षेत्रमा प्रचार पम्प्लेट वितरण गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना र सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भएको यस अभियानलाई जिल्लाको इतिहासमै रोकथाम, उपचार, पुनर्स्थापना र सामाजिक पुनःएकीकरणलाई एउटै साझा ढाँचामा जोडिएको उदाहरणीय पहलका रूपमा हेरिएको छ।

थाहा नगरपालिकाका मेयर विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको अभियान अन्तर्गतको समन्वय बैठकमा प्रहरी र सिआन परिवारको सक्रिय सहभागिता थियो। आगामी ३ महिनाभरि विद्यालय तथा क्याम्पसमा सचेतना कार्यक्रम, युवा संवाद, समुदाय आधारित अन्तरक्रिया, पम्प्लेट वितरण, सडक नाटक, अभिभावक परामर्श सत्र, घरदैलो अभियान, हेल्प डेस्क सञ्चालन र उपचार–पुनर्स्थापनासम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ।

सिआन पुनर्स्थापना केन्द्रले पुरुष र महिलाका लागि छुट्टाछुट्टै पुनर्स्थापना सेवा सञ्चालन गर्दै आएको अनुभवलाई प्रयोग गरी अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। अभियानका आयोजकहरूले “लागुऔषध विरुद्धको लडाइँ सामूहिक जिम्मेवारी हो” भन्ने सन्देशसहित सबै नागरिक, स्थानीय सरकार, शिक्षा संस्था, सञ्चारकर्मी र नागरिक समाजलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

अभियानले केवल चेतनामै सीमित नरही व्यवहार परिवर्तन, कलङ्क न्यूनीकरण र दीर्घकालीन समाधानतर्फ समाजलाई अघि बढाउने अपेक्षा राखिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.