पानी र सडकको अभावले थलिएको मनहरी -६ रुपाचुली 

हेटौंडा । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ नम्बर वडा अन्तर्गत पर्ने रुपाचुली अझै पनि विकासका आधारभूत पूर्वाधारबाट टाढा रहेको बस्ती हो, जहाँका स्थानीयहरू दैनिक जीवनका अत्यावश्यक आवश्यकताहरू पूरा गर्न संघर्ष गरिरहेका छन्। खानेपानी र सडक जस्ता सामान्य मानिने सुविधाको अभावले यहाँको जीवनशैली मात्र होइन, शिक्षा, स्वास्थ्य र आर्थिक अवस्थालाई समेत गम्भीर रूपमा प्रभावित पारेको छ।
रुपाचुलीका बासिन्दाहरूका लागि बजार पुग्नु नै एउटा चुनौतीपूर्ण यात्रा हो। दुई घण्टाभन्दा बढी समय हिँडेर मात्र मनहरी बजार पुग्न सकिन्छ। अझ बर्खायाम सुरु भएपछि अवस्था झनै कष्टकर बन्छ। सडकको अभाव र बाटोको दयनीय अवस्थाका कारण सवारी साधन चल्न सक्दैनन्। स्थानीय ३१ वर्षीया सबिता बलका अनुसार, “हिउँदमा अटो चल्छ, तर बर्खामा त बिरामी परे बोकेरै अस्पताल लैजानुपर्छ।”
खानेपानीको समस्या यहाँको अर्को गम्भीर चुनौती हो। घरघरमा धारा जडान भए पनि पानी नआउने समस्या वर्षौंदेखि यथावत छ। स्थानीयहरू कुवाको पानीमा निर्भर छन्, तर त्यो पनि सफा छैन। चैत–बैशाख लागेपछि कुवा सुक्ने समस्या थपिन्छ। ४३ वर्षीया अमृता प्रजा भन्नुहुन्छ, “कुवाको पानी फोहोर हुन्छ, हेर्दा नै खान मन लाग्दैन, तर त्यही पानी खानुपर्ने बाध्यता छ।” उहाँ थप्नुहुन्छ, “पानीकै अभावले नुहाउने, सरसफाइ गर्ने, गाइवस्तु पाल्ने सबै कुरा कठिन छ।”
पानीको अभावले यहाँको कृषि प्रणाली पनि सीमित बनेको छ। अधिकांश किसानले मकै र कोदो जस्ता बाली मात्र लगाउन सक्छन्। ३३ वर्षीया कृष्ण माया घलान भन्नुहुन्छ, “अरू खेती गर्न पानी छैन। जमिन सुख्खा छ। काम गर्न बाहिर जाउँ भने पनि काम पाइँदैन।” यसले गर्दा अधिकांश परिवारको आयस्रोत अत्यन्त न्यून छ र दैनिक गुजारा चलाउनै कठिन भइरहेको छ।
शिक्षा क्षेत्र पनि यस समस्याबाट अछुतो छैन। रुपाचुलीका बालबालिकाहरू विद्यालय जान दैनिक घण्टौँ हिँड्न बाध्य छन्। अमृता प्रजाको छोरा कक्षा ९ मा पढ्छन्, जसलाई विद्यालय जान आउन करिब पाँच घण्टा लाग्छ। “बजारमा कोठा लिएर राख्ने पैसा छैन, अटो भाडा महँगो छ,” उहाँ भन्नुहुन्छ। यस्तो अवस्थाले बालबालिकाको पढाइमा प्रत्यक्ष असर परेको छ।
स्थानीय ठूली माया रुम्बाको अवस्था झनै कठिन छ। सात सन्तानकी आमा उनीसँग स्थायी आयस्रोत छैन। “खेतबारी पनि राम्रोसँग गर्न सकिँदैन, कमाउन जाने ठाउँ छैन,” उहाँ भन्नुहुन्छ। ज्यालादारी गरेर कमाएको थोरै आम्दानीले परिवार पाल्न मुस्किल हुने गरेको उहाँ सुनाउनुहुन्छ।
केही सामाजिक संस्थाहरूले यहाँ सानो भए पनि आशाको किरण जगाएका छन्। हिमराइट्स मकवानपुरले कोर इन्टरनेशनल क्यानडाको सहयोगमा विगत ८ वर्षदेखि यहाँका केही बालबालिकालाई शिक्षा सहयोग गर्दै आएको छ। संस्थाले बालबालिकालाई विद्यालय पठाउने मात्र होइन, अभिभावकहरूलाई आयआर्जनका लागि कुखुरा र बाख्रा पालन, अदुवा र बेसार खेतीजस्ता कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। संस्थाकी संयोजक कुमारी वाइबाका अनुसार, “आर्थिक अवस्था कमजोर भएका परिवारलाई सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने हाम्रो विश्वास हो।”
स्थानीय तह पनि समस्या समाधानका लागि प्रयासरत रहेको दाबी गरिएको छ। मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले खानेपानी र सडक दुवै समस्या समाधानका लागि पहल भइरहेको बताउनुभएको छ । “पालिकाको बजेट सीमित भएकाले प्रदेश सरकारसँग समन्वय गरेर योजना अघि बढाइरहेका छौँ,” उहाँले भन्नुहुन्थ्यो । उनका अनुसार रुपाचुली जस्तो दुर्गम क्षेत्रमा विकास पुर्‍याउन थप स्रोत र दीर्घकालीन योजना आवश्यक छ।
रुपाचुलीका स्थानीयहरूको अपेक्षा धेरै ठूलो छैन। उनीहरूलाई सहज जीवनयापनका लागि कम्तीमा पानी र सडकको सुविधा चाहिएको छ। आधारभूत पूर्वाधारको अभावले पछाडि परेको यो बस्ती अझै पनि विकासको प्रतीक्षामा छ, जहाँका बासिन्दाहरूको दैनिक संघर्षले राज्यको पहुँच अझै नपुगेको देखाउँछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.