हेटौंडा । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि हेटौंडा उपमहानगरपालिकाका टोल विकास संस्थाहरूले १३ लाख १९ हजार ९१२ रुपैयाँ सहयोग गरेका छन्।
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आह्वानमा सञ्चालन गरिएको राहत सहयोग अभियानअन्तर्गत विभिन्न टोल विकास संस्थाहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार भदौ १७ गतेसम्म विभिन्न टोल विकास संस्थाहरूले स्वेच्छिक रूपमा सहयोग रकम उपलब्ध गराएका हुन्। अभियानमा हेटौंडा उपमहानगरपालिका क्षेत्रका ४२ वटा टोल विकास संस्थाले सहभागिता जनाएका छन्।
बाढीबाट प्रभावित नागरिकको दुःखमा साथ दिन टोल विकास संस्थाहरूले देखाएको मानवीय भावना प्रशंसनीय रहेको भन्दै अध्यक्ष अधिकारीले सहयोग गर्ने सबै संस्था, पदाधिकारी, सदस्य तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्।साथै अभियानमा सहभागी हुन बाँकी रहेका टोल विकास संस्थाहरूलाई समेत राहत अभियानमा जोडिएर सहयोग गर्न उनले आग्रह गरेका छन्।







