नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र उठेको ७० वर्षे उमेरहदको बहसलाई व्यंग्यात्मक शैलीमा प्रतिवाद गरेका छन्। शनिबार बसेको पोलिटब्युरो बैठकमा उनले उमेरहदको मापदण्ड लागू गर्ने हो भने आफूले जेल बसेको १४ वर्ष घटाएर हिसाब गर्नुपर्ने तर्क गरेका छन्।
“७० वर्षे उमेरहद लागु गर्ने हो भने मैले जेलमा बिताएको १४ वर्ष घटाउनु पर्छ,” ओलीले भनेपछि बैठक हल हाँसोमय बनेको स्रोतले जनाएको छ। उनले थपे, “म त अहिले कामको हिसाबले ५० वर्षको जस्तो खटिरहेको छु।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतालाई पनि बैठकमा ओलीले लक्षित गरेका थिए। “विद्याजीलाई हामीले राष्ट्रपति बनाएका थियौं। तर अहिले पार्टीसँग सल्लाह नगरी राजनीतिमा आउनुभएको छ, सरकार फेर्ने प्रयासमा लाग्नुभएको छ,” ओलीको भनाइ थियो।
ओलीले भण्डारीसँग व्यक्तिगत रूपमा भेटेर कुरा गर्न आफू तयार रहेको संकेत गरे पनि, पार्टीको औपचारिक नेतृत्व नछोड्ने स्पष्ट सन्देश पोलिटब्युरोमा दिएका छन्।
उनको भनाइबाट प्रष्ट हुन्छ– ७० वर्षे उमेरहदको बहसलाई ओली स्वीकार्न तयार छैनन् र नेतृत्वबाट पछि हट्ने मूडमा छैनन्। पार्टीभित्र बढ्दो असन्तुष्टि र वैकल्पिक नेतृत्वको खोजी भइरहेका बेला ओलीको यो अभिव्यक्ति राजनीतिक सन्देशसहितको जवाफको रूपमा आएको देखिन्छ।










