हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९, पशुपतिनगरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बेलुका दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक महिलाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटना शनिवार साँझ करिब ४:५० बजे भएको हो। रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल र हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा बा.प्र.०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल चालक, पर्सा बिरगंज महानगरपालिका–१३ का ४८ वर्षीय प्रविण श्रेष्ठ सामान्य घाइते भएका छन्। तर, सोही मोटरसाइकलको पछाडि सवार उनकी ४३ वर्षीया पत्नी कविता जोशी श्रेष्ठ गम्भीर घाइते भइन्।
उनी थप रूपमा ना ७ ख ५०१० नम्बरको बसमा समेत ठोक्किएकी थिइन्। गम्भीर घाइते अवस्थाका दुवै जनालाई तत्काल हेटौंडा अस्पताल लगिएकोमा कविताको उपचारका क्रममा साँझ ५:३० बजे मृत्यु भएको जानकारी दिइएको छ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली खटिएको थियो। दुबै मोटरसाइकल, बस, र ती सवारीका चालकहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन्।









