शिक्षकबाट सफल कृषकसम्म; फेन्चु लामा रुम्बाको प्रेरणादायी संघर्ष

 

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ पदम पोखरी। कुनै समय कोदो र मकै बाहेक अरु बाली नहुने, सुक्खा र बाँझो जस्तै देखिने यो ठाउँ आज हरियाली बगैंचामा परिणत भएको छ। यही परिवर्तनको कथा बोकेका छन् ३६ वर्षीय फेन्चु लामा रुम्बा।

फेन्चुले मास्टर डिग्रीसम्मको अध्ययन पूरा गरेपछि करिब सात वर्षसम्म शिक्षकको पेसा अपनाए। सुरक्षित जागिर, निश्चित तलब र सामाजिक प्रतिष्ठा हुँदाहुँदै पनि उनलाई आफ्नै माटोमा केही गर्ने चाहनाले निरन्तर घच्घचाइरह्यो। घरको एक्लो छोरा भएकाले पनि देश छोड्ने मन भएन। बाउबाजेको जमिनलाई उपयोग गरेर यहीँ केही गर्नुपर्छ भन्ने निर्णयसँगै उनले शिक्षकको पेसा छोडे।

कृषि यात्राको सुरुवात उनले उन्नत जातको बाख्रा पालनबाट गरे। सुरुमा १०० वटा बाख्रा पालेका थिए। तर लागत बढी, मेहनत धेरै र जोखिम पनि उत्तिकै भएपछि अहिले ५० वटामा सीमित गरेका छन्। पशुपालनकै क्रममा उनले कृषिमा धैर्यता, लगनशीलता र निरन्तरताको महत्व बुझ्न थाले।

करिब आठ वर्षअघि पशुपालनबाट सुरु भएको उनको यात्रा बिस्तारै व्यावसायिक खेतीतर्फ मोडियो। उनले मेवा र ड्रागन फ्रुट खेती रोजे। हाल एक बिगा जग्गामा ५०० वटा मेवाका बोट र करिब आठ हजार ड्रागन फ्रुटका बोट लगाएका छन्। ड्रागन फ्रुट खेतीमा प्रतिफल आउन समय लाग्ने भए पनि आम्दानी राम्रो हुने उनी बताउँछन्। एउटै ड्रागनको बिरुवाले १० देखि १५ वर्षसम्म फल दिइरहने र हाँगा काटेर पुनः नयाँ बिरुवा बनाउन सकिने भएकाले यो खेती दीर्घकालीन रूपमा लाभदायक रहेको उनको अनुभव छ।

ड्रागन फ्रुटका विभिन्न जातका बिरुवा लगाइएका छन्। सिजन अनुसार उनले सयपत्री फूल, खर्बुजा र अम्बा पनि खेती गर्दै आएका छन्। कुनै समय पानीको अभाव झेलिरहेको यो जमिनमा अहिले बोरिङ गाडेर सिँचाइको व्यवस्था गरिएको छ। मेहनत र व्यवस्थापनका कारण पहिले कोदो–मकै मात्र फल्ने जमिन आज व्यावसायिक खेतीको नमुना बनेको छ।

फेन्चुको फार्ममा अहिले नियमित रूपमा चार जनाले रोजगारी पाएका छन्। कामको चाप बढ्दा ज्यालादारीमा थप कामदारसमेत लगाउने गरिएको छ। कृषिबाटै आम्दानी बढाउँदै उनी अहिले आफ्नै गाडी चढेर हिँड्न सक्ने अवस्थामा पुगेका छन्। खर्च कटाएर वार्षिक करिब १० लाख रुपैयाँसम्म बचत गर्न सफल भएको उनी बताउँछन्।

छिटो कमाइ गर्ने सोचले कृषि गर्न नहुने फेन्चुको अनुभव छ। मेवा र ड्रागन फ्रुट खेतीमा धैर्य चाहिने भए पनि निरन्तरता दिए राम्रो प्रतिफल आउने उनको भनाइ छ। “काम जे गरिन्छ, त्यसमै निरन्तरता दिनुपर्छ,” उनी भन्छन्, “निरन्तरताले नै मलाई यहाँसम्म ल्यायो।”

आफ्नो पेसाप्रति उनी गर्व गर्छन्। यही कृषि पेसा भविष्यमा आफ्ना छोराछोरीलाई पनि हस्तान्तरण गर्ने उनको चाहना छ। कृषि गर्दा धैर्यता र लगनशीलता भए रमाउन सकिने र रमाउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि भएको उनको विश्वास छ।

फेन्चुको मेहनत राष्ट्रिय स्तरमै चिनिएको छ। मकवानपुर जिल्लाबाट छनोट भई २०७९ सालमा उनले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरे। २०८० सालमा हेटौंडा उपमहानगरपालिकाबाट उत्कृष्ट सिर्जनशीलता पुरस्कार पाएका छन् भने बागमती प्रदेश उत्कृष्ट उद्यमी पुरस्कारबाट पनि सम्मानित भइसकेका छन्।

यो स्थानसम्म आइपुग्दा उनले धेरै संघर्ष झेलेका छन्। तर इज्जत र पैसालाई सन्तुलनमा लैजान सके जीवन सहज हुने उनको अनुभव छ। देश छोड्नुभन्दा आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउने उनको निर्णय आज सफलतामा परिणत भएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.