निर्वाचनको वातावरण नबने संसद् पुनःस्थापना विकल्प हुनसक्छ ; मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले तोकिएको समयमा निर्वाचन हुन नसके संसद् पुनःस्थापना अपरिहार्य विकल्प बन्न सक्ने संकेत गरेका छन् । ५०औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरद्वारा आयोजित कार्यक्रममा उहाँले वर्तमान परिस्थितिमा निर्वाचनको वातावरण अझै तयार नभएको धारणा राखे।

मुख्यमन्त्री बानियाँका अनुसार सरकारको प्रमुख दायित्व निर्वाचन गराउनु भए पनि सुरक्षा चुनौती, लुटिएका हतियार फिर्ता नहुनु, फरार कैदी पक्राउ नपर्नु तथा तोडफोड र लुटपाटमा संलग्नमाथि कारबाही नहुनुजस्ता कारणले चुनाव तत्काल सम्भव देखिँदैन। यी समस्या समाधान नगरी निर्वाचन गरिए अपेक्षित नतिजा नआउने उनको भनाइ छ।

उनले जेनजी पुस्ताका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि संसद् सक्रिय हुनुपर्ने बताए। अहिलेकै प्रक्रियाबाट मात्रै निर्वाचन हुँदा नयाँ पुस्ताका अपेक्षा पूरा नहुने मुख्यमन्त्री बानियाँको धारणा छ।

कार्यक्रममा बोल्दै उहाँले राष्ट्रियता र वर्तमान व्यवस्थाको रक्षा गर्न गणतन्त्रवादी शक्तिहरूबीच एकता आवश्यक रहेको बताए। एमाले, कांग्रेस र माओवादीजस्ता दलहरू एकजुट भएर गणतन्त्रलाई कमजोर पार्ने प्रयासविरुद्ध उभिनुपर्ने उनको आग्रह थियो। जेनजीका असल मागलाई दुरुपयोग गरी राष्ट्रियता धरापमा पार्न खोज्ने तत्वहरूप्रति सचेत रहनुपर्नेमा पनि उनले जोड दिए।

रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीचको सम्भावित सहकार्यबारे टिप्पणी गर्दै मुख्यमन्त्री बानियाँले त्यस्ता गठजोडबाट डराउनुपर्ने अवस्था नरहेको जिकिर गरे। संघीय लोकतान्त्रिक गणतन्त्रभित्रको स्वाभिमानी एकता नै अहिलेको आवश्यकता भएको उनको भनाइ छ।

कांग्रेस बागमती प्रदेश सभापति समेत रहनुभएका बानियाँले बी.पी. कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको सान्दर्भिकता झनै बढ्दै गएको उल्लेख गरे। पार्टीभित्र निर्वाचनका बेला गुट देखिनु स्वाभाविक भए पनि नतिजा स्वीकार गरेर अघि बढ्नु नै लोकतन्त्रको सुन्दर पक्ष भएको उनले बताए ।

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस नेताहरूले बी.पी. कोइरालाको मेलमिलाप नीतिको स्मरण गर्दै वर्तमान संकटबाट देशलाई निकास दिन सोही नीति मार्गदर्शक बन्न सक्ने धारणा व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.