हेटौंडा। हेटौंडा उपमहानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कोषको आयोजनामा बिहिवार बिदाइ तथा स्वागत कार्यक्रमसँगै अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ३४ वर्षदेखि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय रहेर नेतृत्व सम्हाल्दै आएकी कोषकी अध्यक्ष बेगम बराललाई सम्मानपूर्वक बिदाइ गरिएको छ। साथै हेटौंडा–५ की महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मिना चौधरीलाई कोषको नयाँ अध्यक्षको जिम्मेवारी प्रदान गर्दै स्वागत गरिएको हो।
वि.सं. २०५२ सालदेखि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा निरन्तर सेवा दिँदै आएकी बरालले पदबाट बिदा भए पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्। उनले आफू बाँचुन्जेल स्वास्थ्य सेवामा योगदान दिइरहने बताउँदै नेतृत्व हस्तान्तरणले सेवा रोकिने होइन, अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिन्।
बरालका अनुसार उनले २०५७ सालमा दर्ता गरी सञ्चालनमा ल्याएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कोषमा हाल हेटौंडा उपमहानगरपालिकाका ९२ जना स्वयंसेविका आबद्ध छन्।
कार्यक्रममा बोल्दै बरालले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि तोकिएको ६० वर्षे उमेर सीमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरिन्। स्वयंसेवा गर्ने इच्छाशक्ति र शारीरिक क्षमता हुँदाहुँदै उमेरकै आधारमा सेवा छोड्नुपर्ने व्यवस्था उपयुक्त नभएको उल्लेख गर्दै उनले सकुञ्जेल सेवा गर्न पाउने कानुनी व्यवस्था गर्न माग गरिन्।
उनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको स्वास्थ्य सुरक्षाप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्। उनका अनुसार हालसम्म पाँच जना स्वयंसेविकाको क्यान्सरका कारण मृत्यु भइसकेको छ। स्वयंसेविकाहरूले समाज र परिवारबाट समेत अपेक्षित साथ नपाउने अवस्था रहेको उल्लेख गर्दै सबै स्वयंसेविकाको स्वास्थ्य बिमा सुनिश्चित गर्न सरकारसँग माग गरिन्।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा तथा नगरभरिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता थियो।








