पदभारसँगै मुख्यमन्त्रीको पहिलो निर्णय, बागमतीमा सदाचार नीति लागू गर्ने

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले पदभार ग्रहण गर्दै प्रदेशमा राष्ट्रिय सदाचार नीति २०८३ कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।

बिहीबार पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री थापाले संघीय सरकारले हालै जारी गरेको राष्ट्रिय सदाचार नीतिलाई प्रदेशस्तरमा आन्तरिकीकरण गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेका हुन् ।

नीति कार्यान्वयनका लागि मुख्यमन्त्री थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार सचिव उमेश ढकालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेका छन् । समितिमा बैठक तथा प्रशासनका सचिव रामबाबु पुरी, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराई, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव नारायण मैनाली र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारी सदस्य रहेका छन् ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार उपसचिव असिम लामालाई समितिको सदस्य सचिव तोकिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी असिम लामाका अनुसार समितिले राष्ट्रिय सदाचार नीति प्रदेशमा कार्यान्वयन गर्न आवश्यक कार्ययोजना तथा कार्यक्रम तयार गर्नेछ ।

पछिल्लो समय सामाजिक सद्भावमा देखिएका चुनौती तथा शासकीय क्षेत्रमा नैतिकताको आवश्यकतालाई मध्यनजर गर्दै संघीय सरकारको निर्देशन र परिपत्रअनुसार प्रदेशमा उक्त नीति लागू गर्न लागिएको हो ।

स्थानीय तहदेखि प्रदेश तहसम्म सुशासन र सदाचार कायम गर्दै सार्वजनिक प्रशासनलाई थप उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले पहिलो निर्णयका रूपमा नीति कार्यान्वयनको प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.