हरेक वर्ष सेप्टेम्बर ८ मा विश्वभर अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइने गरिन्छ । सन् १९६५ मा युनेस्कोले सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउने घोषणा गरेपछि विश्वभर शिक्षा र साक्षरताको महत्वबारे बहस, चेतना र अभियान सञ्चालन हुँदै आएको छ र आज बिश्वभरी नै बिबिध कार्यक्रम गरेर अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईदै छ । सन् २०२६ मा मनाइने यो दिवसको ६०औँ संस्करण हो र यस वर्षको मूल सन्देश “ Literacy for people, the Planet and prosperity अर्थात् “मानिस, पृथ्वी र समृद्धिका लागि साक्षरता” रहेको छ ।
साक्षरता भन्नाले अक्षर चिन्नु, पढ्न र लेख्न सक्नुको साथसाथै आजको बदलिँदो विश्वमा साक्षरता व्यक्तिको जीवनसँग प्रत्यक्ष जोडिएको ज्ञान, सीप, चेतना, सूचना बुझ्ने क्षमता र सही निर्णय गर्न सक्ने सामथ्र्य पनि हो भन्ने बोध हुन आबश्यक छ । त्यसैले अब साक्षरतालाई केवल औपचारिक शिक्षाको सीमाभित्र राखेर हेर्नु भन्दा पनी नागरिकलाई सामाजिक, आर्थिक, वातावरणीय, स्वास्थ्य, कानुनी र डिजिटल विषयमा समेत सचेत र सक्षम बनाउनु आधुनिक साक्षरताको रुप हो भन्नुमा अत्युक्ती नहोला ।
नेपालका लागि सबै नागरिकलाई साक्षर बनाउनु अझै महत्वपूर्ण राष्ट्रिय आवश्यकता हो । साक्षर नागरिकले आफ्नो अधिकार र कर्तव्य बुझ्न सक्ने सामथ्र्य रहन्छ । सार्वजनिक सेवा प्राप्त गर्ने प्रक्रियाबारे जानकारी राख्न सक्नुका साथै समाज तथा राष्ट्रको विकासमा अर्थपूर्ण योगदान दिन सक्दछन् । तर साक्षर हुनु मात्र पर्याप्त नभई साक्षरतासँगै सचेतना, आलोचनात्मक सोच, जिम्मेवारी र व्यवहारिक ज्ञान पनि उत्तिकै आवश्यक पर्दछ ।
विशेषगरी आजको डिजिटल युगमा डिजिटल साक्षरता झनै महत्वपूर्ण बन्दै गएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल, अनलाइन सेवा र डिजिटल प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिरहेको छ । यसले सूचना र सेवामा पहुँच सहज बनाउनुको साथै यसको दुरुपयोगबाट अनलाइन ठगी, साइबर अपराध, दुव्र्यवहार, गलत सूचना, बालबिबाहमा बृद्धि, घृणात्मक अभिव्यक्ति र बालबालिकामाथि हुने हिंसाका नयाँ जोखिमहरू पनि बढिरहेको पाईन्छ ।
पछिल्लो समय बालबालिका सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगमा बढी सक्रिय हुँदै गएको पाईन्छ । तर उनीहरूलाई डिजिटल संसारमा सुरक्षित रूपमा अघि बढ्न आवश्यक ज्ञान र सीप दिन नसकिएमा प्रविधि अवसरभन्दा जोखिमको माध्यम बन्न सक्दछ भन्ने हेक्का राख्नु पर्दछ । अनलाइन माध्यमबाट हुने यौन दुव्र्यवहार, साइबर बुलिङ, बाल हिंसा, गलत सूचना तथा बालबालिकालाई नकारात्मक गतिविधितर्फ आकर्षित गर्ने प्रवृत्तिले अभिभावक, विद्यालय, सरकार र नागरिक समाज सबैलाई गम्भीर बनाएको छ। त्यसैले आजको साक्षरता अभियानले डिजिटल सुरक्षा र जिम्मेवार प्रविधि प्रयोगलाई समेत आफ्नो प्राथमिकतामा राख्नु पर्दछ भन्ने आम धारणा रहेको पाईन्छ ।
हालै रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढी तथा अन्य विपद्का कारण विद्यालय, शैक्षिक संरचना र समुदायमा परेको क्षतिले बालबालिकाको शिक्षामा प्रत्यक्ष असर पारेको देखिएकोछ । प्राकृतिक विपद्का कारण विद्यालय भवन क्षतिग्रस्त हुनुले बालबालिकाको सिकाइ, मनोसामाजिक अवस्था, सुरक्षा र भविष्यमा समेत प्रभाव पार्दछ ।
त्यसैले क्षतिग्रस्त विद्यालयहरूको गम्भीर मूल्यांकन गरी पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ । अबको प्रथमिकता विद्यालयलाई पूर्ववत् अवस्थामा फर्काउदै विपद् प्रतिरोधी, सुरक्षित, समावेशी र बालमैत्री विद्यालय निर्माणतर्फ पनि ध्यान केन्द्रित हुनु पर्दछ । यस कार्यमा संघ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक छ । नागरिक समाज, गैरसरकारी संस्था, विकासका साझेदार, शिक्षक, अभिभावक र स्थानीय समुदायको सहकार्यले पुनःस्थापना कार्यलाई थप प्रभावकारी बनाउन सक्दछ ।
विपद्का कारण विद्यालय बन्द भएको अवस्थामा बालबालिकाको सिकाइ रोकिनु हुँदैन । आवश्यकता अनुसार अस्थायी सिकाइ केन्द्र स्थापना गरी पठनपाठन सञ्चालन गर्न सकिन्छ। त्यस्ता केन्द्रमा शैक्षिक सामग्री, सुरक्षित सिकाइ वातावरण र मनोसामाजिक परामर्श सेवाको व्यवस्था गर्नु पर्दछ । विपद्बाट प्रभावित बालबालिकाले भोगेको डर, तनाव र असुरक्षालाई सम्बोधन गर्न मनोसामाजिक सहयोग शिक्षा प्रणालीकै एउटा महत्वपूर्ण अंग बन्नु पर्दछ ।
यससँगै बाल हिंसा तथा बाल संरक्षणका सवालमा पनि विशेष ध्यान दिन आवश्यक छ । विपद्को समयमा बालबालिका थप जोखिममा पर्न सक्दछन । बाल श्रम, बालविवाह, बेचबिखन, हिंसा तथा दुव्र्यवहारको जोखिम बढ्न सक्दछ । त्यसैले विपद्पछिको पुनःस्थापना कार्यक्रमलाई भौतिक पुनर्निर्माणको साथसाथै बाल संरक्षण, बाल न्याय, मनोसामाजिक सहयोग र सुरक्षित सिकाइसँग जोड्न सक्नु पर्दछ ।
बालबालिकाको शिक्षाको निरन्तरता सुनिश्चित गर्नु भनेको उनीहरूको भविष्य सुरक्षित गर्नु हो । त्यसैले विपद्को अवस्थामा पनि बालबालिकालाई विद्यालयमा फर्काउने, सिकाइमा निरन्तरता दिने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने कार्यलाई राष्ट्रिय प्राथमिकता बनाउनु पर्दछ ।
यस कार्यमा शिक्षाका क्षेत्रमा क्रियाशील नागरिक समाजका सञ्जाल र संस्थाहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, शिक्षा निगरानी समुह, एनएसिजी, बालिका दुलही होईनन नेपाल, कन्सोर्टियम नेपाल, एनसिपिए, सिजोप, गुडफोर नेट, एनसिएफएलजी फोरम, सिनेट लगायत शिक्षा र बाल अधिकारका क्षेत्रमा कार्यरत नागरिक समाज संजाल उक्त संजालमा आबद्ध संस्थाहरु तथा अन्य सामाजिक संस्थाहरूले सरकारसँग समन्वय गरी प्रभावित क्षेत्रको आवश्यकता पहिचान, अस्थायी सिकाइ केन्द्र सञ्चालन, शैक्षिक सामग्री सहयोग, शिक्षक सहयोग, मनोसामाजिक परामर्श तथा बाल संरक्षणका कार्यक्रम सञ्चालन गर्न सक्दछन् । सरकार र नागरिक समाजबीचको सहकार्यले सीमित स्रोतलाई प्रभावकारी रूपमा परिचालन गर्न सहयोग पु¥याउन सक्दछ ।
तर दीर्घकालीन रूपमा साक्षर नेपालको अभियान सफल बनाउन निःशुल्क र अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयन अत्यावश्यक हुन्छ । नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेकोले प्रत्येक बालबालिकाले आर्थिक अवस्था, भौगोलिक अवस्था, जातीय, लैङ्गिक, अपाङ्गता वा अन्य कुनै कारणले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रहनु हुँदैन भन्ने रहेको छ ।
सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्नु आजको अर्को महत्वपूर्ण आवश्यकता हो । दक्ष शिक्षक, पर्याप्त शैक्षिक सामग्री, सुरक्षित र बालमैत्री वातावरण, प्रविधिमा पहुँच, समावेशी शिक्षा, नियमित मूल्यांकन, मनोसामाजिक सहयोग र अभिभावकको सहभागिताले मात्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिन्छ ।
साक्षरता दिवसले सरकारको साथसाथै सबै नागरिकलाई आफ्नो जिम्मेवारी सम्झाउने अवसर जुराएको छ । सरकारले शिक्षा सम्बन्धी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्दै सार्वजनिक शिक्षालाई बलियो बनाउनुको बिकल्प देखिदैन । स्थानीय सरकारले आफ्ना विधालय र समुदायको वास्तविक आवश्यकता पहिचान गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सक्नु पर्दछ । शिक्षकले गुणस्तरीय सिकाइ सुनिश्चित गर्नु, अभिभावकले बालबालिकालाई विद्यालय पठाउने र सिकाइमा सहयोग गर्ने वातावरण बनाउनुको साथै नागरिक समाजले सरकारका प्रयासलाई सहयोग, निगरानी र सहजीकरण गर्न सक्नु पर्दछ ।
आजको साक्षरता अभियानको उद्देश्य “सबैलाई पढ्न र लेख्न सक्ने बनाउने” सिर्जना गर्नुको साथै “सबैलाई बुझ्ने, सोच्ने, प्रश्न गर्ने, सुरक्षित रहने र सही निर्णय गर्न सक्ने बनाउने” हुनु पर्दछ । डिजिटल युगमा डिजिटल साक्षरता, विपद्को समयमा विपद् सचेत शिक्षा, बालबालिकाका लागि सुरक्षित सिकाइ र मनोसामाजिक सहयोग तथा सामाजिक रूपान्तरणका लागि नागरिक चेतनालाई साक्षरतासँग जोड्न आवश्यक देखिन्छ ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस शिक्षा प्रणालीको अवस्था समीक्षा गर्ने, शिक्षाबाट वञ्चित नागरिक र बालबालिकालाई सम्झने तथा आगामी दिनको शिक्षा नीति र अभ्यासलाई अझ प्रभावकारी बनाउने अवसरको रुपमा रुपान्तरण हुन आबश्यक देखिन्छ । नेपालमा साक्षरता अभियानले सार्थकता पाउन निःशुल्क, अनिवार्य, समावेशी र गुणस्तरीय सार्वजनिक शिक्षा सुनिश्चित गरिनु पर्दछ ।
प्रकाश खतिवडा बागमती प्रदेश, शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल संयोजक तथा अध्यक्ष, बाल कल्याण समाज मकबानपुर हुन् ।








