बाल सहभागिताका लागि केन्द्रित हुन अधिकारकर्मीले बुझाए ध्यानाकर्षण पत्र

हेटौंडा। बालअधिकारकर्मीले बागमती प्रदेश बालअधिकार समितिमार्फत सामाजिक विकास मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

मंगलबार बाल अधिकारका क्षेत्रमा कृयासिल अधिकारकर्मीले  सामाजिक विकास मन्त्रालयमा प्रदेश बालअधिकार समितिमार्फत सामाजिक  विकास महाशाखा प्रमुख इन्दिरा ओझा तथा समितिका सदस्य प्रकाश खतिवडालाई ध्यानाकर्षणपत्र बुझाइएको हो ।
बाल सहभागितामा कार्यरत् संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल) लगायत बालबालिकाको क्षेत्रमा कार्यरत् विभिन्न संस्थाहरुले उक्त दिनलाई राष्ट्रिय बाल सहभागिता दिवसका रुपमा मनाउँदै आएका छन् । दिवस २०७९ साउन २५ गतेदेखि मनाउन थालिएको हो ।
ध्यानाकर्षणपत्र नेपालको संविधान, २०७२ को मौलिक हकका रुपमा उल्लिखित बालबालिकाको हकअन्तर्गत् बालबालिकाको सहभागिताको हक सुनिश्चितताका लागि, बाल सहभागिता दिवस मनाउँदै गरेको सन्दर्भमा कर्न्सोटियम नेपालआबद्ध सामाजिक संस्थाहरु, गैसस महासंघआबद्ध संस्थाहरु र बाल सहभागिता सुनिश्चितता अभियानमा क्रियाशील संस्थातर्फबाट बाल सहभागिता सुनिश्चितताका लागि पत्र पेश गरिएको छ ।
प्रदेश तथा स्थानीय तहहरुमा बाल सहभागितासम्बन्धि नमूना कार्यविधि बनाइ सबै प्रदेश र स्थानीय तहहरुलाई सहजीकरण, प्रदेशमा बालक्लब/समूहसम्बन्धि स्पष्ट मापदण्ड (न्यूनतम्‌स्तर) तयार गर्दै बालक्लव, बालक्लब सञ्जाल र बालक्लबमा सहभागी बालबालिकाको तथ्यांक र त्यस्ता तथ्यांकको वार्षिक अद्यावधिक गर्ने व्यवस्था, समावेशी बालक्लबको अवधारणालाई मूर्तरुप दिन तथा सीमान्तकृत बालबालिकाको बालक्लबमा सहभागिताका लागि आवश्यक निर्देशन माग गरिएको छ ।
बालबालिकासम्बन्धि ऐन, २०७५ मा उल्लेख भएअनुसार प्रदेश र स्थानीय तहमा बालअधिकारसम्बन्धि संरचना निर्माण र सोको प्रभावकारिताका लागि भूमिका, स्थानीय तहको योजना निर्माण प्रक्रियामा अपांगता भएका बालबालिका, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बालबालिका, पछाडि पारिएका समूहका बालबालिकालगायतको सहभागिता सुनिश्चितता तथा प्रदेशका सबै स्थानीय तहहरुमा बालमैत्री स्थानीय शासनको कार्यान्वयन, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य व्यवस्थापन समितिलगायत बालबालिकाहरुसँग प्रत्यक्ष सरोकार रहने संरचानामा बालबालिका, बालक्लब र सञ्जालका प्रतिनिधिको सहभागितासम्बन्धि असल अभ्यासको नीतिगत् व्यवस्था गरी कार्यान्वयन, विगतका बालविवाह रोकथाम तथा न्यूनीकरणमा भएका केही असल अभ्यासलाई समेत मध्यनजर गरी बालक्लब तथा बालक्लब सञ्जालसमेतलाई परिचालन गरी बालश्रम अन्त्य, बालविवाह अन्त्य अभियान सञ्चालन र नागरिक संगठन एवम् सञ्जालहरुसँग सहकार्य तथा हातेमालो गर्दै नियमित बैठक तथा परामर्श गरी बालबालिकाका लागि विशेष योजना तथा कार्यक्रम घोषणा र कार्यान्वयन चरणमा सहभागी गराउन माग छ ।

कार्यक्रममा संचारकर्मी तथा सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलालले ध्यानाकर्षण पत्र र यसको औचित्यताका विषयमा बोल्नु भएको थियो भने उक्त ध्यानाकर्षण पत्र गैसस महासङ्घ बागमती प्रदेश अध्यक्ष कमल कुमार बिश्वकर्मा,गैसस महासङ्घ  मकवानपुरका अध्यक्ष रमिला सापकोटा तथा हेटौंडा उपमहानगरपालिका स्तरिय बाल क्लब संजालका अध्यक्षले संयुक्तरुपमा समितिलाई हस्तान्तरण गर्नुभयो ।

बाल कल्याण समाजले संयोजन गरेको उक्त कार्यक्रममा माइती नेपाल, साना हातहरु, एस्थर बेन्जामिन, मानव अधिकार संगठन, दलित महिला संघ, सिविन नेपाल, कोशिश  लगायतका संघ-संस्था तथा २१ जना अधिकारकर्मीको सहभागिता थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.