मकवानपुरको उत्तरी भेगमा अवस्थित थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीसँग मन्जिता मैनाली ‘मन्जु’ ले गरेको अन्तर्वार्ता
थाहा नगरपालिकाको समग्र भूगोल र विकासमा पछिल्ला वर्षहरूमा के–कस्ता परिवर्तन देख्नुभएको छ ?
उत्तर: निर्वाचित भएर आएपछि शिक्षा, स्वास्थ्य, भौतिक संरचना, पर्यटन र कृषिका क्षेत्रमा केही फरक अनुभूति गर्न पाएका छौँ। योजनाबद्ध विकासका प्रयाससँगै नयाँ–नयाँ कामहरू गर्दै अगाडि बढिरहेका छौँ।
उपप्रमुखको हैसियतले भूगोल सुहाउँदो दिगो विकासका लागि तपाईँको प्राथमिकता के हो ?
उत्तर: थाहा नगरपालिका मुख्यतः कृषि क्षेत्रमै अगाडि बढेको क्षेत्र हो। यहाँ बेमौसमी तरकारी खेती राम्रो हुने भएकाले कृषिलाई प्राथमिकतामा राखेका छौँ। साथै पछिल्लो समय धार्मिक पर्यटनलाई व्यवस्थित र आकर्षक बनाउने योजनासहित अघि बढिरहेका छौँ।
भोलिको दिनमा थाहा नगरपालिकालाई कस्तो अवस्थामा देख्न चाहनुहुन्छ ?
उत्तर: जनप्रतिनिधि भएर आउँदा सोचेका र देखेका सपनाहरू केही फरक थिए। काठमाडौं र हेटौंडाको बीचमा रहेको थाहा नगरपालिका सोचेजस्तो विकास हुन सकेको छैन। तर पनि यसलाई फरक पहिचानसहित अगाडि बढाउने प्रयासमा छौँ।
शिक्षामा अपेक्षित विकास नहुनुको कारण के देख्नुहुन्छ र सुधारका लागि जनप्रतिनिधिको भूमिका कस्तो हुनुपर्छ ?
उत्तर: शिक्षा क्षेत्रमा भएको लगानीअनुसार विकास थाहामा मात्र होइन, देशमै हुन सकेको छैन जस्तो लाग्छ। केही हदसम्म राजनीतिले शिक्षा क्षेत्रलाई असर गरेको अनुभूति हुन्छ। सबै लगानी खेर गएको त छैन, तर अपेक्षित सुधार आएको छैन। कतिपय विद्यालयमा विद्यार्थी संख्या कम र शिक्षक संख्या बढी छ। सरकारी र निजी विद्यालयलाई सरकारले हेर्ने दृष्टिकोण पनि फरक छ, जुन हुनुहुँदैन। शिक्षकले विद्यार्थीप्रति जिम्मेवार भूमिका निर्वाह गरे सुधार सम्भव छ।
युवा र महिलाको सहभागिताले पालिकाको भविष्य कस्तो बनाउने विश्वास गर्नुहुन्छ ?
उत्तर: युवाहरू देशमै रहनुपर्ने अवस्थामा विदेशीने क्रम बढ्दो छ। युवालाई कसरी देशमै स्थायित्व दिन सकिन्छ भन्ने विषयमा गम्भीर विश्लेषण आवश्यक छ। महिला अगाडि बढेको समाज संस्कार र संस्कृतिमा पनि सबल हुन्छ। जेन्जी आन्दोलन पनि यही विद्रोहको स्वरूप हो जस्तो लाग्छ। युवामा भ्रष्टाचाररहित देश बनाउने चाहना छ, तर यस विषयमा राजनीतिक दल चुकिरहेका छन्। जहाँ युवा र महिला अगाडि हुन्छन्, त्यहाँ विकास र समृद्धि सुनिश्चित हुन्छ।
स्थानीय भूगोल, स्रोत र सम्भावनाको उपयोगमा राजनीतिक नेतृत्व कत्तिको सफल भएको छ ?
उत्तर: कुनै पनि स्थानको परिवर्तन राजनीतिबाट अलग भएर भएको देखिँदैन। परिवर्तनमा राजनीतिले ठूलो भूमिका खेल्छ। कस्तो नेतृत्व आउँछ भन्ने कुराले नै परिणाम निर्धारण गर्छ। सकारात्मक नेतृत्व आयो भने सकारात्मक परिवर्तन अवश्य हुन्छ।
जेन्जी आन्दोलनले पुर्याएको प्रभाव, राजनीतिक तरंग र चुनावलाई कसरी हेर्नुभएको छ ?
उत्तर: जेन्जी आन्दोलन भ्रष्टाचारमुक्त सुशासन र सकारात्मक सोचका साथ देश परिवर्तन गर्नुपर्छ भन्ने अभियान हो। चुनावमा उम्मेदवार चुनिएपछि देशलाई सही दिशामा लैजाने अपेक्षा जनताले गरेका हुन्छन्। देश सुशासन र विकासको गतिमा अघि बढ्छ भन्नेमा जनता ढुक्क हुन चाहन्छन्।
आगामी दिनमा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने मुख्य परिवर्तन के हो ?
उत्तर: समाजमा धेरै आवश्यकता छन्। पछिल्लो समय कृषकलाई अनुदानका कार्यक्रममार्फत सघाउने प्रयास गरिरहेका छौँ। विकासमा जनताको सहभागिता कसरी बढाउने भन्ने विषयमा निरन्तर लागिरहेका छौँ। योजना अनुसार अघि बढ्न सके धार्मिक पर्यटनमा थाहाले ठूलो छलाङ मार्ने विश्वास छ।
सफल व्यवसायी भएर जनप्रतिनिधिको भूमिकामा हुनुहुन्छ, २०८४ पछिको योजना के छ ?
उत्तर: अब त सफल व्यवसायी असफल भइएला कि भन्ने डर पनि छ। भ्रष्टाचारतिर लाग्यौं भने त्यो अपराध हुन्छ भन्ने कुरा म बारम्बार भन्छु। २०८४ मा नयाँ अनुहारलाई अवसर दिनुपर्छ जस्तो लाग्छ। देश परिवर्तन खोजिरहेको छ, तर समाजमा अराजकता र नकारात्मक सोच बढ्दै गएको हो कि भन्ने चिन्ता पनि छ। त्यसैले नैतिकता नबिर्सी सकारात्मक सन्देश दिनु आजको आवश्यकता हो।











