
सानी सानैदेखि उनका दुधे ओठबाट शब्दहरु फुट्न सुरु गर्दादेखि नै होला,
लामो समयपछि घामलाई चिनिन्,
सोध्थिन् घामले किन पोल्छ,
हावा किन देखिँदैनरु
उनको मन जिज्ञासाहरुले भरिपूर्ण हुन्थ्यो
उसका प्रश्नहरुका उत्तर जान्न कै लागि भनी स्कूल पठाइयो,
चिनाइयो एकएक अक्षरहरु,
स्वरहरु,
अलिकति समय अनुसार ठुली भएर जाँदा
लेख्न सिकाइयो वाक्यहरु,
उनले माला गाँस्न सिकिन् शब्दहरुका,
सानोमा उनी कक्षामा बस्दा उनका
हरेक पिरियडहरु आधा घण्टाको हुन्थ्यो,
तर आज उनी ठुली भइन् उनका
पिरियडहरु लामो हुन पुगेका छन्।
उनले चिनेकी थिइन् घामले सबैभन्दा धेरै पोल्छ भनेर
तर आज उनी आफू गलत भएको महसुस गर्छिन्,
कसैलाई थाहा होला न होला
तर सानीको हरेक पिरियडमा
सानीको पेटमा घामले बास गर्ने गर्छ,
त्यो घामले यतिसम्म पोल्छ कि
उसलाई संसारकै सबैभन्दा ठूलो छायाले पनि
आफ्नो शीतलता प्रदान गर्न असफल हुन्छ।
सानीलाई सानोमा अक्षर र स्वर चिनाइयो,
उनलाई बोल्न, लेख्नुभन्दा अलि सजिलो लाग्थ्यो
तर उनका स्वर झुकाइएका छन्,
अझै पनि धेरै जसो ठाउँमा
सानीलाई महिनावारी हुँदा
प्याड चाहियो भने
ऊ बोलेर माग्नभन्दा पनि लेख्न बाध्य हुन्छे।
आमा हाम्रो पनि बहिनी सानै छे
उसले पनि त पछि गएर भोग्नुपर्छ होला नि है,
सानीले जस्तै भोगेका कुराहरु,
आखिर कहिलेसम्म रिसाउँछन्
आमा ती मन्दिरका ढुङ्गाका देवता,
हाम्रो घरको सानो देवीसँग,
तबसम्म हो आमा,
जबसम्म मेरी बहिनी पनि स्वयम् ढुङ्गा हुँदिन !
-सुजन विश्वकर्मा
हेटौँडा-१७ (मकवानपुर)











