मधेश प्रदेशका पूर्वप्रमुख तथा पत्रकारिताबाट राजनीतिमा आएका राजेश झा (अहिराज) हाल काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन्। रौतहट घर भएका झामाथि २३ वर्षीया युवतीले बलात्कारको जाहेरी दिएकी हुन्।
पीडित परिवारसँग पारिवारिक सम्बन्ध भएका झा काठमाडौँ आउँदा नयाँ बानेश्वरस्थित पीडितकै घरमा बस्ने गर्थे। यही क्रममा उनले पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ।
बलात्कार भएको घटना परिवारले थाहा पाएपछि झाले रकम दिएर मिलाउने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पीडित युवतीको खातामा झाले एकपटक चार लाख रुपैयाँ जम्मा गरिदिएको देखिएको छ। तर झाले ती युवतीले बार्गेनिङ गरेर पैसा लिएको दाबी गरे पनि अनुसन्धानमा त्यसको पुष्टि नभएको प्रहरीले जनाएको छ।
२०७७ फागुनमा प्रदेश प्रमुख बनेका झामाथि २०८१ माघ ३ गते जाहेरी परेको हो। त्यसपछि झाले उल्टै पीडितविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) को जाहेरी दिएका थिए। अनुसन्धानका क्रममा झाले पीडितसँग ५० लाख मागेको आरोप लगाएका छन् भने पीडितले चुनौती दिँदै प्रमाणित गर्न आग्रह गरेकी छिन्।
काठमाडौँ जिल्ला अदालतले २०८१ चैत २५ गते पक्राउ पुर्जी जारी गरेपछि झा फरार भएका थिए। उनी पछिल्लो साता मात्र पक्राउ परेका हुन्। हाल उनीमाथि पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन्।
बलात्कार र आपराधिक लाभसम्बन्धी दुई मुद्दा कसरी अघि बढाउने भन्ने विषयमा सरकारी वकिलको कार्यालयसँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ। झाले सबै आरोप इन्कार गरेका छन्।











