आज गाईजात्रा विविध रंग–रूपमा मनाइँदै छ। बागमती प्रदेशको राजधानी हेटौँडासहित देशका विभिन्न शहर र गाउँमा पनि यस पर्वको उल्लास देखिएको छ।
इतिहास अनुसार, राजा प्रताप मल्ल (वि.सं. १६४१–१६६४) ले नाबालक छोरा गुमाएपछि महारानी गहिरो शोकमा परिन्। सो शोक लामो समयसम्म गएपछि शोक कम गर्न र मृत आत्माको स्मरणार्थ उनले प्रजाहरूलाई हनुमानढोका दरबार परिसरमा गाईजात्रा गराउन लगाए। त्यसपछि यो चलन परम्परागत रूपमा निरन्तर हुँदै आएको हो।
जनविश्वास अनुसार, आजको दिन मृत्युका देवता यमराजको पूजा -अर्चना गरे मृतात्माहरूले मुक्ति पाउँछन्। गाईजात्रा निकाल्दा गाईलाई अघि लगाइन्छ, गाई नभएमा कुमार बालकलाई गाईजस्तै सजाएर अघि सारिन्छ। विभिन्न मुखुण्डो, रङ्गीचङ्गी पोसाक, बाजागाजा, ध्वजापताका र बितेका आफन्तजनका तस्बिरसहितको यो जात्रा मनोरञ्जन र श्रद्धा दुबैको प्रतीक मानिन्छ।
हेटौँडामा आज विभिन्न टोल र समुदायले बाजागाजासहित गाईजात्रा निकालेका छन्, जसले स्थानीय बजार क्षेत्रमा उत्सवको माहोल बनाएको छ










