आज अष्टमीको अघिल्लो दिन फूलपाती भित्र्याइँदै छ। फूलपातीमा केरा, हलेदो, धानको बाला, अशोक, बेलपत्र, दारिम, केराको बोट, जयन्ती, उखु लगायतका लहरा–पात तथा विभिन्न फूल मिसाइन्छ। यस वर्ष फूलपाती भित्र्याउने उत्तम साइत बिहान ७ बजेर १७ मिनेटमा रहेको खगोलीय पञ्चाङ्गले जनाएको छ।
नेपाल एकीकरणपछि गोरखाबाट फूलपाती उठाएर देशका विभिन्न शक्ति पीठमा पुर्याउने परम्परा सुरु भएको थियो। गोर्खा जिल्लाले नेपालीको ऐतिहासिक पहिचान मात्र होइन, सांस्कृतिक एकताको प्रतीक पनि बोकेको छ। त्यसैले गोर्खाको फूलपाती विशेष मानिन्छ।
काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानी मन्दिरमा राखिने फूलपाती पनि परम्परागत रूपमा गोर्खाबाटै धादिङको जीवनपुर हुँदै ल्याइने चलन थियो। यद्यपि लोकतन्त्र आगमनपछि यो ऐतिहासिक परम्परामा निरन्तरता नआए पनि, केही स्थानीयले आज पनि मोटरसाइकलमार्फत फूलपाती काठमाडौँ पु-याउने गरेका छन्।
गोर्खा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा भने अझै परम्परागत ढङ्गले फूलपाती भित्र्याइन्छ। आधा घाम अस्ताइसकेको र आधा घाम देखिने समयमा मात्र फूलपाती दरबारमा भित्र्याउने परम्परा रहँदै आएको छ।
बागमती प्रदेशको राजधानी हेटौँडामा समेत आज बिहानै फूलपाती भित्र्याउने कार्य सम्पन्न भएको छ। यहाँका बनस्खण्डी, भुटनदेवी, पाथिभरा, मनकामना, चुरियामाईलगायतका शक्ति पीठमा फूलपाती भित्र्याइएको छ। नवरात्रको अवसरमा दुर्गासप्तशती पाठ, विशेष पूजा–आराधना हुँदै आएका छन् भने शहरका चोक–चोकमा दुर्गा माताको प्रतिमा राखिएका स्थलहरूमा विहान–साँझ श्रद्धालुको भीड लाग्ने गरेको छ।









